प्रहरी चढेको भ्यान दुर्घटना हुँदा २ को मृत्यु , ८ घाईते

१० असार, रौतहट: रौतहटमा प्रहरीको चढेको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । थुनुवालाई म्याद थप गराउन चन्द्रपुरबाट जिल्ला अदालत गौर जाँदै गरेको प्रहरीको भ्यान गौर चन्द्रपुर सडक खण्ड अन्तरगतको बालचनपुरमा दुर्घटना भएको हो ।

दुर्घटना परी लागुऔषध मुद्दाका आरोपी चन्द्रपुर नपा ४ का २० बर्षीय मुकेश भन्ने निर्मल साह र सवारी ज्यान मुद्दाका सुनसरी इनर्वा १ का ४० वर्षीय रमेशकुमार चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको वीरगञ्ज लैजाने क्रममा बाटोमा नै मृत्यु भएको र घाइते हुनेहरुमा भ्यान चलाएका प्रहरी सहायक निरीक्षक दिपेश चौलागाई, प्रहरी हवलदारद्धय उमेश यादव र विनोद मण्डल जवानहरु संजिव कार्की, हरि किशोर चौधरी र अजय यादव तथा अभद्र व्यवहार मुद्दाका आरोपित थुनुवा कुमार गेलाल र टेकबहादुर तामाँग सामान्य घाइते भएका छन् । घाइतेहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

दुर्घटना भएको गाडी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नभएको तथा जिल्ला वन कार्यालयल रौतहटले काठ चोरीमा प्रयोग भएको बोलेरो पिकअप पक्राउ गरेकोे गाडी रहेको र त्यसलाई मर्मत नै नगरी म्याद थपका लागि आरोपीहरुलाई लैजाने क्रममा पाङग्रा पम्चर भई क्राउन र एक्सल भाँचिदा दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस