सयौं वर्ष पुरानो यार्तुङ, १९ गाउँका बासिन्दाले मनाउँदै उत्सव

मुक्तिनाथ २८ साउन । तामाको भाँडामा चोखो रक्सी, लुलु गाईको शुद्ध घ्युमा मुछिएको चामल, घ्युबाटै बनाइएको परम्परागत प्रसाद, ठ्यांग्रो ठोक्दै परम्परागत गीतका भाका हाल्दै निस्किए, एक हुल स्थानीय । बक्खु, दोचासँगै हिमाली क्षेत्रमा लगाइने पुर्ख्यौली पोसाकमा सजिएका स्थानीयले पाहुनालाई यसरी स्वागत गरे ।शुभ साइत र शुभ कार्यमा गाइने गीतसँगै रमाइरहेका छन्, गाउँले । गाउँ(गाउँबाट आएका बासिन्दाले अंकमाल र हात मिलाउँदै शुभकामना दिँदै भनिरहेका छन्( टसी धेलेक, टसी धेलेक अर्थात् स्वागत छ, शुभकामना छ ।खासै बर्खाको पानीले नभिजाउने हिमाली जिल्ला मुस्ताङको मुक्तिक्षेत्रमा यस्तै रौनक छ । परम्परागत मौलिक संस्कृति, पोसाक र इतिहासलाई पछ्याउँदै गाउँ(गाउँबाट स्थानीय भेला भएका छन् ।बर्खा सकियो । उति साह्रो खेतीको माचो छैन । अनि जनैपूर्णिमाको छेको पारेर मुक्तिनाथ वरपरका गाउँलेहरु एकै ठाउँ भेला हुन्छन् र उत्सव मनाउँछन् । यो उत्सवमय पर्व हो( यार्तुङ ।

मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा पुरानो बजार छ, रानीपौवा । यसै पनि यहाँ मुक्तिनाथ पुग्ने पर्यटकको चहलपहल भइरहन्छ, हिउँ पर्ने यामबाहेक । रानीपौवामा यसपाली पर्यटकको उति चहलपहल छैन । बरु स्थानीयको यार्तुङ पर्वले गुल्जार छ । अनि गुल्जार एक गाउँको होइन, १९ गाउँको । हो, रानीपौवामा यतिबेला यार्तुङको सामूहिक उत्सव चलेको छ ।१९ गाउँका बासिन्दा एकसाथ, एकै ठाउँ भेला भएर मनाउने यार्तुङ उनीहरुको सबैभन्दा उल्लासको पर्व हो । बर्खायामको बिदाइका रुपमा यार्तुङको अर्थ लगाउँछन् स्थानीय ।हिमाली बासिन्दाका बेग्लै दुःख छन् । हिउँ परे पनि नपरे पनि उनीहरुलाई चिन्ता पर्छ । हिउँदमा गाउँ ठाउँमा बस्नै सकस हुन्छ । चौंरी, भेंडा, घोंडा लगायतसँग किसानका दिन गोठ, खर्कमै बित्छ । सबै दुःख, कष्टलाई भुलेर उत्साहका साथ प्रत्येक वर्ष जनैपूर्णिमाका बेला मुक्ति क्षेत्रमा यार्तुङ पर्व मनाइने परम्परा छ ।यार्तुङको मुख्य आकर्षण घोंडा दौड हो । गाउँ(गाउँका बलिस्ट र धावक घोडाकासाथ रानीपौवा आइपुग्छन् । घोडा दौडमात्रै हुँदैन, प्रतिस्पर्धा नै हुन्छ । घोडा दौडका विभिन्न कला हेर्न विभिन्न ठाउँबाट पर्यटक आउने गरेका छन् । तोटले दौडेको घोंडाबाटै भुइँमा राखिएको पैसा, खादा टिप्ने कला रोचक हुने गर्छ । यो कौशल काठमाडौंको टुँडीखेलमा नेपाली सेनाले गर्ने प्रदर्शनभन्दा कम छैन ।ऐतिहासिक सांस्कृतिक कार्यक्रम, नाचगान त भइहाल्यो । तारो हान्ने यार्तुङको अर्को आकर्षण हो । गाउँ(गाउँबाट तारो हान्ने खेलमा भाग लिन सहभागी हुन्छन् । ‘जसले उपाधि जित्छ त्यसको नाम रोशन हुन्छ,’ स्थानीय रमेश गुरुङ भन्छन् । मिठो खाने, एकआपसमा शुभकामना साट्ने र एक गाउँ, अर्को गाउँबीच सदभाव राख्ने यसको मर्म भएको गुरुङले सुनाए । यार्तुङमा धेरै वर्ष पुरानो पोशाकको ठूलो महत्व हुने स्थानीय बताउँछन् ।यार्तुङ कहिलेदेखि मनाउन थालियो, ठ्याक्कै एकिन छैन । तर, जिजूबाजेकै पालादेखि यार्तुङ मनाउन थालिएको खिङ्गा गाउँका छवाङ नाम्ग्या गुरुङ बताउँछन् । ‘वर्षौं पहिलेदेखि जिजूबाजेकै पालादेखि यो भव्य रुपमा मनाइन्थ्यो । यार्तुङ सबै गाउँमा हुन्छ, तर जनैपूर्णिमाका बेला १९ गाउँले एकसाथ यार्तुङ मनाउँछ,’ छवाङले भने, ‘यसको विशेष महत्व छ । बर्खायामको बिदाइ गर्दै भव्यरुपमा यार्तुङ मनाइन्छ ।’पहिलेदेखि नै १९ गाउँका बासिन्दा रानीपौवामा जम्मा हुन्थे र यार्तुङ मनाउँथे । बीचमा केही सेलायो । केही वर्ष अघिदेखि यार्तुङलाई फेरि सबै गाउँलाई जोड्ने र संस्कृति बचाइराख्ने कामको नेतृत्व रानीपौवाकै जनप्रिय युवा क्लबले सम्हाल्यो । अहिले युवा क्लबलाई साथ दिन र यार्तुङ संस्कृतिलाई बचाइ राख्न वारागुङ मुक्तिक्षेत्र गाउँपालिका आइपुगेको छ । पर्यटन बोर्ड पोखराले यसपालीको यार्तुङलाई प्रवर्द्धन गरेको छ ।‘परम्परागत रुपमा मनाइँदै आएको यार्तुङलाई बचाइराख्ने कामको नेतृत्व गाउँपालिकाले लिनुपर्छ भनेर त्यसको नेतृत्व लिएका छौं,’ गाउँपालिका उपाध्यक्ष बिकी गुरुङले भनिन् ।यार्तुङ मुस्ताङमा प्राय गाउँमा मनाइन्छ ।

तर, मुक्तिनाथ क्षेत्र र लोमान्थाङमा सामूहिक रुपमा उत्सवको रुपमा मनाउने गरिन्छ । यार्तुङलाई केही वर्षयता महोत्सवका रुपमा मनाउन थालिएको र त्यसबाट पर्यटकीय आकर्षण पनि थपिएको गाउँपालिका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले बताए ।सोमबारदेखि सुरु भएको यार्तुङ महोत्सव ३० गतेसम्म चल्ने छ । महोत्सवको उदघाटन गर्न पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि यार्तुङमा रमाए । स्थानीय पोसाकमा सजिए । घोडामा चढेर कार्यक्रमको उदघाटन गरे, याक चढेर रोमाञ्चित बने ।घोडा दौडको स्वाद लिए । बाटोमा पैसा राखेर घोडा दौडाउँदै टिप्ने कला हेरेर रमाए । यार्तुङमा पुगेर मुख्यमन्त्री गुरुङले मुस्ताङ जिल्ला एक संग्रहालय भएको बताए ।

संसारभर पहिचान, रितिरिवाज र संस्कृति बचाउन अभियान चलिरहेको भन्दै उनले मुक्तिक्षेत्रमा पनि यार्तुङलाई बचाउन उत्सवका रुपमा मनाइएको भन्दै प्रदेशले आर्थिक हिसाबमै सहयोग गर्ने बचन दिए ।मुख्यमन्त्री गुरुङले लोमान्थाङको अहिले पनि सांस्कृतिक राजा रहेको बताउँदै लोमान्थाङलाई युनेस्कोमा दर्ता गराउन पहल गर्ने आश्वासन दिए । हिँजो दुःखको जिल्ला मुस्ताङले अब मुहार फेर्ने उनको भनाइ थियो ।मुक्तिनाथलाई डकुमेन्ट्रीका रुपमा भारत र चीनमा पुर्‍याउने, प्रचार प्रसार गर्ने र सन् २०२२ सम्म गण्डकी प्रदेशको जनसंख्या बराबर पर्यटक भित्राउने मुख्यमन्त्री गुरुङले बताए ।संघीय सांसद प्रेम तुलाचनले यार्तुङ पर्वलाई बचाइराख्न नयाँ पुस्ताले नेतृत्व लिएको बताए । भोलि यार्तुङ हेर्नकै लागि सयौं पर्यटक मुस्ताङ आउने उनको भनाइ थियो ।‘पर्यटन, संस्कृति, कृषि, पशुपालन र गुणस्तरीय पूर्वाधार, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहिचान र समृद्धिको मुल आधार’ यार्तुङको मूल मर्मका रुपमा लिइएको छ ।  एजेन्सी

प्रतिक्रिया दिनुहोस