क्रिकेट टिमले सुरु गर्‍यो साग तयारी

काठमाडौं,१७ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आगामी मंसिरमा नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको तयारी सुरु गरेको छ। नेपालले मंगलबारबाट औपचारिक रूपमा बन्द प्रशिक्षण सुरु गरेको हो। टियु क्रिकेट मैदानमा सागको बन्द प्रशिक्षण सुरु भएको हो। सागका लागि नेपालले प्रारम्भिक चरणमा ३५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ। यद्यपि सबै खेलाडी प्रशिक्षणमा आएका छैनन्। तीन दिनभित्रमा सबै खेलाडी प्रशिक्षणमा आइपुग्ने राखेप टिम तयारी समितिका निर्देशक महेन्द्र राईले जानकारी दिए। नेपाली टोलीलाई मुख्य प्रशिक्षक उमेश पटवालाले नै प्रशिक्षण गराउने छन्। उनलाई मनोज कटवाल र प्रदीप राज पाण्डेले प्रशिक्षणमा सघाउने छन्। यसअघि पटकपटक बन्द प्रशिक्षणको समय सार्दै आए पनि नेपाली टिम अब भने नियमित अभ्यासमा देखिनेछ। नेपाली टोलीको पहिलो दिनको प्रशिक्षणको सुरुवातका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप )का सदस्य सचिव रमेशकुमार सिलवाल, टिम तयारीका निर्देशक महेन्द्र कुमार राईलगायतको टोली टियु मैदान कीर्तिपुर पुगेको थियो। सागका लागि महिला टिमको तयारी भने दुई साता अघिबाटै सुरु भइसकेको छ। आगामी १५ देखि २४ मंसिरसम्म नेपालमा साग सञ्चालन हुँदैछ। प्रारम्भिक टिम प्रारम्भिक टिममा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, राजु रिजाल, जितेन्द्र मुखिया, प्रदिप ऐरी, सुनिल धमला, सौरभ खनाल, ललित सिंह भण्डारी, बिक्रम सोब, इशान पाण्डे, अनिल कुमार शाह, अभिनास बोहोरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी र करण केसी रहेका छन्। त्यसैगरी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, सन्दीप जोरा, कुशल मल्ल, रित गौतम, पवन सरार्फ, अमित श्रेष्ठ, किशोर महतो, मोहम्मद आशिफ शेख, सुसन भारी,नन्दन यादव, रोहित कुमार पौडेल, भिम सार्की, कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, सागर ढकाल र शाहब आलम पनि प्रारम्भिक टिम भित्र परेका छन्।

प्रतिक्रिया दिनुहोस