विदेशी बुहारी ७ र ज्वाइँ १५ वर्षमा नागरिक : बुहारीलाई ‘वैवाहिक नेपाली परिचयपत्र’, ज्वाइँलाई के?

काठमाण्डौँ,२७ भदौ । नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी नागरिक महिलालाई ‘वैवाहिक नेपाली परिचयपत्र’ दिइने भएको छ। नेपाली नागरिसँग विवाह गरेको ७ वर्षसम्म सामाजिक, सास्कृतिक तथा आर्थिक अधिकार प्रयोग गर्न पाउनेगरी नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिला ‘बुहारी’लाई त्यस्तो परिचयपत्र दिने व्यवस्था गर्न लागिएको हो। संघीय संसद राज्यव्यवस्था तथा सुशासन समितिमा छलफलको अन्तिम चरणमा रहेको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’को प्रतिवेदनमा उक्त व्यवस्था राख्न प्रस्ताव गरिएको छ। नेपाली नागरिक (पुरुष)सँग विवाह गरेर आउने विदेशी महिलालाई वैवाहिक नेपाली परिचयपत्र दिने भनिए पनि नेपाली महिलासँग विवाह गरेर आउने विदेशी पुरुषलाई नागरिकता प्राप्त गर्दासम्मका लागि कस्तो परिचयपत्र दिने भन्नबारेमा भने प्रतिवेदनमा केही पनि उल्लेख छैन। यो विषयमा कुनै पनि सांसदले राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा कुरा उठाएका छैनन्। संसदीय समिति र गृहमन्त्रालयको सहकार्यमा तयार पारेर शुक्रबारको बैठकमा छलफलका लागि प्रस्तुत गरिएको प्रतिवेदनमा लेखिएको छ, ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरी नेपालमा बसोबास गरेकी महिलालाई नागरिकता नपाएसम्मका लागि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउनेगरी तोकिएबमोजिम वैवाहिक नेपाली परिचयपत्र प्रदान गर्न सकिनेछ।’ नेपाली महिलासँग विवाह गरेर नेपालमै बसेको विदेशी पुरुषले भने नेपाली नागरिकता प्राप्त गर्नका लागि १५ वर्ष नेपालमै बसेको हुनुपर्ने उक्त प्रतिवेदनमा लेखिएको छ। ‘नेपाल नागरिकता ऐन, २०६३’मा नेपालमा १५ वर्ष बसोबास गरेको व्यक्तिलाई सरकारले चाहेमा अंगीकृत नागरिकता दिन सक्नेछ। यता, नेपाली महिलासँग विवाह गर्ने विदेशी नागरिक पुरुषलाई भने १५ वर्षपछि नागरिकता प्राप्त गर्ने अधिकार हुनेछ।   यस अर्थमा, नेपाली महिला नागरिकसँग विवाह गरेर नेपालमै बसोबास गरेको र नेपाली महिलासँग विवाह नगरी नेपालमै बसेको विदेशीले नागरिकता पाउने समयमा कुनै अन्तर हुने छैन। नेपाली महिला नागरिकसँग विवाह गरेर नेपालमा १५ वर्षपछि बस्दै आएको विदेशीले अंगीकृत नागरिकता प्राप्त गर्नेबारेमा प्रतिवेदनमा लेखिएको छ, ‘नेपाली महिला नागरिकसँग विवाह गरी कम्तीमा १५ वर्षसम्म नेपालमा बसोबास गरेको र देहायको शर्त र अवस्था पूरा गरेको विदेशी नागरिकलाई तोकिए बमोजिम अंगीकृत नेपाली नागरिकता प्रदान गर्न सकिनेछ।’ त्यस्तो नागरिकता प्राप्त गर्न तीन शर्त राखिएको छ। जसमा ‘अन्य मुलुकको नागरिकता वा नागरिकता सरहको राष्ट्रियता जनाउने परिचयपत्र लिएको भए त्यागेको, असल चालचलन भएको र नेपाली वा नेपालमा प्रचलित अन्य कुनै भाषा बोल्न जानेको’, राखिएको छ।

प्रतिक्रिया दिनुहोस