छोरा निकको सम्झनामा साइमन दम्पतीद्धारा अनलाइन प्रविधिको जडान:नेपालमैै पहिलो पटक सल्यान अस्पतालमा

सल्यान,८असोज। सन् २००२ मा निक साइमन्स नाम गरेका एकजना अमेरिकी युवा नेपालमा काम गर्न आएका थिए । साँस्कृतिक तथा भाषिक कठिनाईका वावजुद उनी नौ महिना नेपालमा बसे र नेपालप्रतिको गहिरो मायालाई सँगालेर उनी आफ्नो घर न्यूयोर्क फर्के । उनले आफ्नी आमालाई यदि कुनै दिन नेपाल जस्तो देशमा गई काम गरेर आफ्नो जीवन विताउन चाहेमा अचम्मित नहुन भनेका थिए । त्यसपछि उनले आफ्नो बाँकी अध्ययन पुरा गर्ने तयारीमा लागे जसले उनलाई मेडिकल शिक्षा पढ्नको लागि बाटो खुला गर्दथ्यो ।

सन् २००३ को गृष्म ऋतुमा इन्डोनेशियाको बालीमा पौडी खेल्ने क्रममा डुवेर दुर्भाग्यवश उनको देहान्त भयो । उनको देहान्त भएको करीव अढाई महिना पछि उनको अभिभावकहरु, दिदी बहिनीहरु र नजिकका केही साथीहरु आफूहरुलाई विल्कुलै केही थाहा नभएको ठाउँमा केही ठोस तथा राम्रा काम गर्ने आशामा नेपाल आए । यसको शुरुवात पाटन अस्पतालको प्रसुति वार्ड निर्माणको लागि आर्थिक सहयोगबाट गरे । त्यसको एक बर्षपछि उनीहरुले स्वास्थ्य व्यवसायीहरुको एउटा समूहलाई एउटा यस्तो संस्था बनाउन चुनौति दिए जुन एउटा जिउँदो स्मारक जस्तै रही देशको दुर्गम क्षेत्रहरुमा स्वास्थ्य सेवाबाट वन्चित जनतासम्म सेवा पुर्याउन

सकोस् ।

यो अवधारणाको वरिपरि रही कार्य गर्न धेरै मानिसहरु संलग्न भई कार्यदल गठन भए । यसै दौरानमा सो कार्यदलले संचालक समितिको चयन गर्नुका साथै संस्थाको लागि कर्मचारीहरुको भर्ना प्रक्रिया पनि शुरु गर्यो । उनका अभिभावकहरु जिम र मेरिलिन प्रत्येक बर्ष दुई पटक नेपाल आउँछन् । निक साइमन्स इन्स्टिच्यूटको साझेदार हुनसक्ने विभिन्न अस्पतालहरु घुम्ने क्रममा उनीहरुले देशका केही अति दुर्गम ठाउँहरुमा पनि यात्रा गरेका थिए । त्यहि अन्तरगत सल्यान पनि परेको थियो ।
तिनै निकको नाममा स्थापना भएको निक साइमन्स इन्स्टिच्यूटले नेपालका ग्रामिण क्षेत्रमा स्वास्थ्य सुविधा प्रदान गर्दै अएको छ । त्यहि इन्टिच्युटका संस्थापक जिम साईमन्स र मरिलिन साईमन्सले सल्यान अस्पतालमा संयुक्त रुपमा ‘इलेक्ट्रोनिक मेडिकल रेकर्ड’ को उद्घाटन गरेका छन ।
सल्यानमा भएको इलेक्ट्रोनिक्स मेडिकल रेकर्ड नेपालमै पहिलो हो । विकट कर्णाली प्रदेशको सल्यानबाट यो सुविधा लागु भएपछि अव विरामीले कागज बोक्ने बाध्यता हट्नेछ । जिल्ला तहका अस्पतालहरूमा नेपालकै पहिलो अस्पतालको रुपमा सल्यान जिल्ला अस्पतालमा नयाँ प्रबिधि जडान गरिएको हो । निक साइमन्स इन्स्टिच्यूटको सहयोगमा जिल्ला अस्पतालमा हुने कागजको प्रयोग घटाउदैँ प्रबिधियुक्त बनाउन अनलाइन प्रणाली जडान गरिएको हो । हरेक कक्षहरुमा कागजको प्रयोग हुदैँ आएकोमा अव अनलाइनमा नै सबै रेकर्ड रहनेछ ।
अहिले करिब १ करोड रुपैँया बढीको लागतमा जिल्ला अस्पतालमा बिभिन्न प्रबिधि जडान गरिएको छ । स्वास्थ्य तथ्याङ्क गुणस्तरीय बनाउन, स्वास्थ्य संस्थामा बिरामी प्रवेश गरे देखि उपचार हुँदा र बाहिरिँदा सम्मको अवस्थालाई सफ्टवेयरको सहयोगमा सुरक्षित राख्न र बिरामीको सुरुवाती अवस्थादेखि उपचारसम्मको प्रक्रियालाई जस्ताको त्यस्तै इन्ट्री गर्न इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीको सुरुवात गरिएको हो ।
निक साइमन्स इन्स्टिच्यूट नामक एउटा नेपाली संस्था करिब ४० लाख रुपैँया र कोजेक नामक संस्थाको करिब ६० लाखको लागतमा जिल्ला अस्पतालमा इलेक्ट्रोनिक मेडिकल रेकर्डको शुरुवात गरिएको निक साइमन्स इन्स्टिच्यूट कर्णालीका जर्नादन पाठकले बताए । जिल्ला अस्पतालमा २ डाक्टर लगायत ६ जना स्वास्थ्यकर्मी र हरेक बर्ष ३ देखी ५ लाख रुपैँयाको सामाग्री खरिद, यूएएम मेसिन खरिदमा पनि सहयोग गरेको छ । अहिले जिल्ला अस्पतालमा कर्मचारी समायोजनका कारण डाक्टरहरू नभएको बेला निक साइमन्सको तर्फबाट खटिएका स्वास्थ्यकर्मीले धानेको अस्पतालले जानकारी दिएको छ ।

स्वास्थ्य संस्थाले रोगको वार्षिक ब्यबस्थापन योजना बनाउन, प्रत्येक रोगको स्वास्थ्य संस्थामा उपचार ब्यबस्थापन गर्न, आवश्यक मेसिन उपकरण औजारहरुको ब्यबस्थापन गर्न, र अस्पतालमा गरिएका सेवाहरुको मासिक प्रतिबेदन तयार गर्न इएमआर निकै फलदायी हुने सल्यान जिल्ला अस्पतालका डा। प्रदिप शर्माले बताए । एनएसआईले स्वास्थ्यकर्मीलाई तालिम तथा अस्पताललाई सहयोगको माध्यमबाट ग्रामीण स्वास्थ्यसेवामा रहेको समस्याहरु समाधानको उपायहरु पत्ता लगाई तिनीहरुको स्तरवृद्धिको लागि नेपाल सरकारसँग पैरवी गर्दै आएको छ ।

अस्पताल बिकास समितीका अध्यक्ष दामोदर शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै निक साइमन्स इन्स्टिच्यूटका संस्थापक जिम साईमन्स र मरिलिन साईमन्सले छोरा निक साईमन्सको सपनालाई पुरा गर्न आफुहरुले नेपालमा आएर स्वास्थ्य क्षेत्रमा लगानी गरेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख केश बहादुर बिष्ट, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक रिता जैसी, एनएसआईका कार्यकारी निर्देशक डा. अनिल बहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने लगाएतले बोलेका थिए । शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।तस्बिरःमिना बुढाथोकि https://dailynewsbank.com/2019/09/25/751

 

प्रतिक्रिया दिनुहोस