महरासँग बन्द इजलाशमा बयान लिइँदै, थुनछेक बहसको सम्भावना आज न्यून

काठमाडौं,१५ कार्तिक। जबर्जस्ती करणी उद्योगको अभियोग लागेका पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महराको आज जिल्ला अदालत काठमाडौंमा बयान लिने काम भइरहेको छ । महराको बयान बन्द इजलाशमा भइरहेको अदालत परिसरमा रहेका बाह्रखरीकर्मी जगन्नाथ दुलाले जनाएका छन् ।

बयान सकिएपछि महराविरुद्धको मुद्दामा थुनछेकको प्रक्रिया शुरु हुनेछ । तर, आज अदालत तीन बजे नै बन्द हुने भएकाले थुनछेक बहसको सम्भावना निकै कम छ ।

बिहीबार दर्ता भएको मुद्दामा जिल्ला अदालत काठमाडौंका मुख्य न्यायाधीश सुदर्शनराज पाण्डेले महराको बयान लिइरहेको बताइएको छ । बिहीबार बयान नसकिएको भन्दै उनैले महरालाई न्यायिक हिरासतमै राख्न आदेश दिएका थिए । महरालाई पक्राउ गरेको २५ दिनपछि मुद्दा दर्ता भएको थियो ।

मुलुकी अपराध संहिताको दफा २१९ ९३० अनुसार १८ वर्षभन्दा बढी उमेरकी महिलासँगको करणीमा न्यूनतम सातदेखि अधिकतम १० वर्षसम्म कैदको व्यवस्था छ । महराको हकमा करणी उद्योगमा मुद्दा दर्ता गरिएकाले उक्त सजायको आधामात्र मागदाबी छ । जसअनुसार कम्तीमा साढे तीन वर्षदेखि पाँच वर्षसम्म कैद दाबी गरिएको छ ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले कसुर गरेकाले अभियोगपत्रमा थप डेढी सजाय माग गरिएको छ । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा १५ (२) को (ङ) अनुसारको सजाय दाबी गरिएको छ । दुबै मागदाबी अनुसार महरामाथि न्यूनतम पाँच वर्ष तीन महिना तथा अधिकतम सात वर्ष छ महिना कैद सजाय हुन सक्नेछ ।

थुनछेक बयान र बहस सकिएपछि पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा वा सामान्य तारेखमा रिहा गर्ने आदेश हुनेछ ।https://dailynewsbank.com/?p=1004&preview=true

प्रतिक्रिया दिनुहोस