सुगर मिलका मालिक राकेश अग्रवाललाई उपस्थित गराउन गृहको पत्र

काठमाडौं,१५ पौष । गृह मन्त्रालयले अन्नपूर्ण सुगर मिलका मालिक राकेश अग्रवाललाई उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको छ ।

उद्योग मन्त्रालयले गृह मन्त्रालयलाई लेखेको चिठीको आधारमा गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेर अग्रवाललाई उपस्थित गराउन भनेको हो । सर्लाहीको धनकौल गाउँपालिका २ मा रहेको अन्नपूर्ण सुगर मिलले उखु किसानको ५० करोड रुपैयाँजति तिर्न बाँकी रहेपछि हारगुहार गर्दै किसानहरु काठमाडौं आइपुगेका छन् । अन्नपूर्ण सुगर मिल र महालक्ष्मी सुगर मिलले गरेर जम्मा ७१ करोड रुपैयाँ तिर्न बाँकी छ ।

गृह मन्त्रालय स्रोतका अनुसार उद्योग मन्त्रालयको आग्रह बमोजिम प्रहरी प्रधान कार्यालयलाई पत्र लेखिएको हो । अग्रवाल भने अहिले सम्पर्कविहीन रहेको किसानहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस