सभामुखमा पूर्वसंविधान सभा अध्यक्ष सुवास नेम्वाङको सम्भावना बलियो

काठमाडौं,१५ पौष । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले सभामुखको उमेदवार टुंग्याउन अझै केही दिन लाग्ने बताएका छन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार बिहान सामान्य कुराकानी भए पनि विषयमै केन्द्रित रहेर छलफल हुन बाँकी रहेको प्रधानमन्त्रीको सचिवालयले  जानकारी दिए को क ।

“दुई अध्यक्षबीच कुराकानी त हुँदै आएको छ । सभामुखमै केन्द्रित रहेर कुराकानी भएको छैन,” प्रधानमन्त्रीको सचिवालयले दाबी गर्‍यो ।

प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार सभामुखमा पूर्वसंविधान सभा अध्यक्ष सुवास नेम्वाङको सम्भावना बलियो छ । नेम्वाङका विषयमा दुई अध्यक्षबीच खासै विमति नरहेको सचिवालयको दाबी छ । “अहिलेको परिस्थितिमा संसद् सञ्चालन गर्न सक्ने उपयुक्त पात्र नेम्वाङ नै हो भन्ने विषयमा दुवै अध्यक्ष एक मत देखिनुभएको छ । यद्यपि निर्णय नभई यसै भन्न सकिँदैन,” सचिवालय भन्छ ।

तर,  पूर्वमाओवादी केन्द्रभित्र सभामुख पद आफ्नो भागको भएकाले छाड्न नहुने मत बलियो हुँदैछ । पूर्वमाओवादी केन्द्र समूहका नेताहरू अध्यक्ष प्रचण्डलाई भेटेर सभामुख नछाड्न दबाब दिइरहेका छन् ।

“तर, यही कारणले दुई अध्यक्षबीच कुरा नमिलेको भने होइन,” प्रधानमन्त्रीको सचिवालय भन्छ, “उहाँहरूबीच कुराकानी नै राम्रोसँग हुनपाएको छैन ।”

आइतबार बसेको पार्टी सचिवालय बैठकमा सभामुखको विषयले प्रवेश पाएको थियो । तर, विस्तृत कुराकानी हुन नपाएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

पूर्वमाओवादी केन्द्रले अग्नि सापकोटालाई अघि सारेको छ । पूर्वसभामुख ओनसरी घर्ती, पम्फा भुसाल, देव गुरुङआदिले पनि इच्छा देखाएका छन् । तर, सापकोटा नै उपयुक्त पात्र भएको पूर्वमाओवादी केन्द्रका नेता भन्छन् ।

यता उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि सभामुखमा इच्छा देखाएकी छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारी र महिला सांसदहरूको साथ छ । तुम्बाहाङ्फे के कति कारणले सभामुख बन्न अयोग्य भन्दै सार्वजनिक रूपमै प्रश्न उठाउँदै आएका छन् । सभामुख बन्ने इच्छाकै कारण तुम्बाहाङ्फेले संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक सञ्चालन गरिन् ।

सभामुख मात्रैले अध्यक्षता गर्ने संवैधानिक प्रावधान भएका ठाउँमा पनि तुम्बाहाङ्फेले उपसभामुखको हैसियतमा अध्यक्षता गरेकी छन् ।

सभामुख कृष्णबहादुर महरा संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौनदूराचार, बलात्कार प्रयास अभियोगमा पुपक्र्षका लागि जेल चलान भएपछि पद रिक्त छ ।
तुम्बाहाङ्फेले महराको गल्तीको सजायको भागिदार आफू नहुने भन्दै राजीनामा दिन आनकानी गर्दै आएकी छन् ।

संविधानमा सभामुख फरकफरक पार्टी र लिङ्गी हुनुपर्ने प्रावधानका कारण पनि उपसभामुखलाई राजीनामा नगराइ नेकपाले सभामुखमा उमेदवारी दिन पाउँदैन ।

१६ गतेको बैठकले कार्यतालिका सार्वजनिक गर्छ

११ गतेको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भयो । सभामुखको पनि टुंगो नलागेको र कार्यसूची पनि तय नभएकाले संसद् बैठक स्थगित भयो ।

१६ गते बस्ने संसद् बैठकले सभामुख निर्वाचनको कार्यतालिका प्रकाशित गर्ने सम्भावना रहेको स्रोत बताउँछ । कार्यतालिका आएपछि सभामुखको टुङ्गो लाग्छ ।

प्रतिक्रिया दिनुहोस