कारागारभित्र रहेका थुनुवालाई ब्राउन सुगर पास गर्न खाज्ने एक जना पक्राउ

धनगढी, ४ माघ । कैलाली जिल्ला कारागारभित्र रहेका थुनुवालाई चप्पल भित्र खैरो हेरोईन(ब्राउन सुगर) दिन खोज्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का शिवनगरका बसन्त खत्री रहेका छन् ।

उनी लागु औषधको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका कैलालीको टीकापुरका निराजन शाहलाई ब्राउन सुगर दिन खोजेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

खत्री कारागार भित्र रहेका शाहका लागि माघ १ गते चप्पल र फलफुल छोडेर गएका थिए । प्रहरीले चप्पल चेकजाँचका क्रममा चप्पल काटेर हेर्दा त्यसभित्र राखेको ब्राउन सुगर फेला पारेको हो ।

खत्रीलाई एक दिनपछि बिहीवार दिउसो कैलाली जिल्ला अदालतबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । चोरीको मुद्दामा पुष ८ गते पक्राउ परेका खत्री १९ दिन हिरासतमा बसेर २७ गते छुटेका थिए । पक्राउपछि हाल जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएका खत्रीमाथि लागुऔषध ओसारपोसारको मुद्दा चलाईने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस