कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या ३६१ पुग्यो

काठमाण्डौं । कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको छ । आज (सोमबार) बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

यस्तै संक्रमितको संख्या चीनमा मात्र १७ हजारभन्दा धेरै भएको छ । चीनभन्दा बाहिर २४ देशमा गरी १ सय ५० जनामा कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ । चीन बाहिर आइतबार फिलिपिन्समा पनि एक जनाको ज्यान गएको छ ।

यस्तै, कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि चीनको वुहान शहरमा १० दिनभित्र निर्माण भएको अस्पतालको आज (सोमबार) उद्घाटन गरिँदै छ । गएको जनवरी २४ अर्थात माघ १० गतेबाट निर्माण सुरु भएको अस्पतालको निर्माणकार्य सम्पन्न भएको हो । झण्डै, २५ हजार वर्गमिटर क्षेत्रफलमा निर्माण भएको हुओसेनसान अस्पतालमा एक हजार शय्या राखिएको छ ।

यसअघि पनि भाइरस संक्रमित बिरामीको उपचारका लागि छोटो समयमा अस्पताल निर्माण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस