कोभिड–१९) बढ्दो जोखिमलाई मध्यनजर गर्दै शिक्षा मन्त्रालयको यस्तो आह्वान

काठमाडौं,२१फाल्गुन – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको (कोभिड–१९) बढ्दो जोखिमलाई मध्यनजर गर्दै शिक्षा मन्त्रालयले विद्यालयहरुमा वार्षिक उत्सव लगायतका जनभेला हुने प्रकृतीका कार्यक्रमहरु नगर्न आह्वान गरेको छ । बार्षिक परीक्षा चाँडै सक्न पनि मन्त्रालयले भनेको छ ।

‘आवश्यक सर्तकता अपनाउन उपयुक्त भएकोले विद्यालयगत रुपमा सञ्चालन हुने शैक्षिक सत्र २०७६ को कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र प्रारम्भ गरी आगामी चैत्र ५ गते भित्र सम्पन्न गरिसक्ने व्यवस्था गर्नु’ मंगलबार मन्त्रालयद्वारा सार्वजनिक रुपमा गरिएको आह्वानमा भनिएको छ ‘विद्यालयमा सभा, समारोह, वार्षिक उत्सव लगायतका जनभेला हुने प्रकृतीका कार्यक्रमको आयोजना नगर्न मन्त्रालय सम्बन्धित सबैमा आह्वान गर्दछ ।’

चीनको वुहानबाट शुरु भएको कोभिड–१९ को जोखिम नेपाल लगायत ६८ देशमा भईसकेको भन्दै विश्व स्वास्थ्य संगठनले सचेत हुन आह्वान गरे पछि नेपालले पनि सर्तकता अपनाउन थालेको छ । सोमबार मात्रै शिक्षा मन्त्रालयले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई आवश्यक ‘नो अब्जेक्सन लेटर’ (एनओसी) दिने कार्यमा रोक लगाउने निर्णय गरेको थियो ।

बढ्दो जोखिमका कारण सरकारले भ्रमण बर्ष २०२० लाई पनि स्थगित गरेको छ । नेपाल आउने विदेशीलाई आगमन भिसा (अन(अराइभल) भिसा समेत तत्कालका लागि स्थगित गर्ने सरकारले निर्णय गरेको छ । धेरै मानिस संलग्न हुने कार्यक्रम गर्दा संक्रमणको सम्भावना अधिक हुने भन्दै सरकारले ठूला सभा सम्मेलनहरू सकेसम्म नगर्न समेत अपिल गरेको छ । जोखिमलाई ध्यान दिदैं सरकारले आइतबारदेखि नै त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल भएर आवतजावत गर्ने सबै यात्रुको स्वास्थ्य जाँच पनि सुरु गरेको छ । विदेशबाट आउने पर्यटक, नेपाली तथा तेस्रो मुलुक जाने ट्रान्जिटका यात्रु सबैले स्वास्थ्य जाँचको डेस्क अनिवार्य पार गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस