‘सुँघेर’ चेक गर्न बन्द, मापसे चेकिङमा कोरोनाको असर

काठमाडौं, फागुन २१ ।

चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोनाभाइरसको असर नेपालमा हुने गरेको मापसे चेकिङमा पनि परेको छ । कोरोना संक्रमणको त्रासका कारण ट्राफिक प्रहरीले चेक गर्दै आएको मापसे परीक्षणमा असर परेको छ ।

ट्राफिक प्रहरीसँग पर्याप्त मात्रामा ब्रेथलाइजर मेसिन नभएका कारण कैयौं स्थानमा मुखले सुँघेर पनि मापसे चेक गर्नुपरेको थियो । तर अहिले उक्त प्रक्रिया रोक्नुपरेको ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले बताए । “हामीले अहिले बिनाब्रेथलाइजर मापसे चेक गर्न रोकेका छौं,” ढकालले बाह्रखरीसँग कुरा गर्दै भने, “सबै ठाउँमा चेक गर्न ब्रेथलाइजर पनि पर्याप्त छैन ।

यसको फाइदा मापसे गर्नेहरुले उठाउन सक्ने देखिएको छ । हामी कसरी गर्ने भन्नेमा छलफल गर्दैछौं ।” ट्राफिक प्रहरीका अनुसार ब्रेथलाइजरबाट पनि मापसे चेकिङ गर्ने कि नगर्ने भन्ने विषयमा छलफलकै क्रममा रहेको छ । नजिकै गएर चेक गर्नुपर्ने भएकाले कोरोनाभाइरसको संक्रमण भएको भए असर गर्न सक्ने भन्दै त्यसको विकल्पमा छलफल भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस