लकडाउन खुकुलो बनाउने विषयमा छलफल भैरहेकाे छ : स्वास्थ्य मन्त्री ढकाल

काठमाडौं, १९ बैशाख ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले लकडाउन खुकुलो बनाउने विषयमा सरकारले छलफल गरिरहेको बताउनुभएको छ ।

शुक्रबार राष्ट्रियससभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा मन्त्री ढकालले कृषि, उद्योगलगायतका क्षेत्रलाई मध्यनजर गर्दै बन्दाबन्दीलाई केही खुकुलो बनाउने विषयमा छलफल गरिरहेको बताउनुभएको हो । लकडाउनलाई नयाँ ढंगले सहजीकरण गर्दै जानुपर्ने उहाँको भनाइ छ । त्यस्तै, काठमाडौंमा कोरोना संक्रमित नभेटिएको भन्दै ढुक्क हुन नहुने पनि बताउनुभयो ।

यसबीच उहाँले समग्र नेपाल कोरोना भाइरसको उच्च जोखिममा नरहेको बताउनुभयो । उपयुक्त समयमा लकडाउनको विधि अपनाइएको र सर्वसाधारणले सामाजिक दूरी कायम राखेर सहयोग गरेकाले कोरोनाको जोखिम रोक्न सफल भएको उहाँको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनले सुरुमा नेपाललाई उच्च जोखिममा राखेको तर पछि सरकार र सबै सरोकारवालाले चालेको कदमले त्यो सूचीबाट हटेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस