नेपालमा पहिलो पटक कोरोना भाइरसका कारण एक जनाकाे मृत्यु

काठमाण्डाैँ, ०३ जेठ ।

नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड १९ का कारण एक जनाको मृत्यु भएको छ । गत माघ महिनादेखी संक्रमण फैलिएन सुरु भएको नेपालमा संक्रमितको संख्या २७८ पुगेपछि एकजनाको मृत्यु भएको हो ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको कोरोनाले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले आज राति एक विज्ञप्ति जारी गर्दै उक्त कुराको पुष्टि गरेका हुन् । उनको बिहीबार राति मृत्यु भएको हो ।

उनी २५ गते डिस्चार्ज भएकी थिइन् । उनलाई घर पुगेपछि स्वास्थ्यमा समस्या देखिएपछि धुलिखेल अस्पताल ल्याइएको थियो । स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा उनको आरडिटि रिपोर्ट पोजिटिभ आएको थियो। उनको सुरुमा आरडिटि पोजिटिभ आएको थियो। अहिले पीसीआर पनि पोजिटिभ आएको हो । नेपालमा सबैभन्दा पहिले गत माघमा चीनबाट आएका युवकमा कोरोना पोजेटिभ देखिएको थियो ।

नेपालमा कोरोनाका कारण मृत्यु हुने उनी पहिलो महिला रहेको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए । शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा उपचार गराइएको थियो । ती महिलाले वैशाख २३ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना भएर २४ गते बच्चा जन्माएकी थिइन् ।

अहिले नेपालमा २६वटा जिल्लामा कोरोना पुष्टि भइसकेको छ । अहिलेसम्म नेपालमा २ महिने शिशुदेखि ८१ वर्षीया वृद्धामा पनि कोरोना देखिएको छ। नेपालमा अहिलेसम्म कोरोनालाई जितेर घर फर्किनेको संख्या ३६ रहेको छ।

प्रतिक्रिया दिनुहोस