नेपाली युवा दिवेश पोखरेल बने अमेरिकन आइडलको उपविजेता

काठमाडाैं, ५ जेठ ।

नेपाली युवा दिवेश पोखरेल अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको अमेरिकन आइडलको उप–विजेता बनेका छन् । उनले सोमबार बिहान भएको १८औँ संस्करणको फाइनल प्रस्तुतिपछि भएको भोटिङमा दोस्रो स्थान हासिल गरेका हुन् । उनी अमेरिकाको स्टेजमा अर्थर गनको नामले चिनिदै आएका छन् ।

अमेरिकन आइडलको १८ औं सिजनकी बिजेता भने २१ बर्षकी जस्ट साम बनेकी छिन् । पाँच जनामा भएको फाइनल प्रतिस्पर्धापछि उत्कृष्ट दुई जना छनोट गरिएको थियो । उत्कृष्ट दुईमा आर्थर गन र जस्ट साम छनोट भएका थिए ।

सुरूदेखि नै दिवेश र जस्टलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । दिवेश टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली हुन् ।

जस्ट न्यूयोर्क निवासी लाइबेरियन मूलकी अश्वेत गायिका हुन् । उनले मिडल स्कुलदेखि नै न्यूयोर्कका सव वे र ट्रेनहरुमा गाउने गर्थिन् ।

नेपाली युवा दिवेश पोखरेल सन् २०१४ मा अमेरिका पुगेका थिए । कन्सासको विचिटामा बस्दै आएका दिवेश विगत दुईबर्षदेखि संगीतको क्षेत्रमा छन् । उनी प्लस टु उत्तिर्ण गरेपछि अमेरिका पुगेका थिए ।

दिवेशले सन् २०१९ को जनवरीमा नेपालमै आफ्नो ग्रहण एल्बमको लोकार्पण गरेका थिए । अर्थर गनका नाममा युट्युब च्यानलसमेत बनाएका उनका एक दर्जनजति गीत छन् ।अमेरिकामा रहेका नेपालीहरुले उनलाई उत्साहका साथ भोटिङ गरेका थिए भने विश्वभरका नेपालीहरुले अमेरिकन आइडलको यो शोलाई विशेष चासोका साथ हेरेका थिए ।

गत फागुनको पहिलो हप्ता भएको अमेरिकन आइडलमा अडिसनबाट छनोटसँगै दिवेशको चर्चा एकाएक चुलिएको थियो।

प्रतिक्रिया दिनुहोस