काठमाण्डाैँ, २५ जेठ ।
कोरोना भाइरस (कोभिड–१९) बाट सबैभन्दा धेरै मानिस संक्रमित हुने मुलुकको सूचीमा भारत पाँचौं स्थानमा पुगेकाे छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ४६ हजार ६२८ पुगेको छ । संक्रमितको यो संख्या इटाली र स्पेनको भन्दा पनि बढी हो ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका नौ हजार ९७१ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पनि ६ हजार ९२९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट २८७ जनाको मृत्यु भएको थियो ।भारतमा अहिलेसम्म कोरोना भाइरसका एक लाख १९ हजार २९३ संक्रमित निको भएर घर फर्किसकेका छन् ।
जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार स्पेनमा अहिलेसम्म दुई लाख ४१ हजार ३१० जना संक्रमित फेला परेका छन् । त्यस्तै इटालीमा दुई लाख हजार ८०१ संक्रमित फेला परेका छन् ।