संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित

काठमाण्डाैँ, ३१ जेठ ।

नेपालको संविधानको दोस्रो संशोधन विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतले पारित भएको छ । प्रतिनिधि सभा बैठकमा विधेयक माथिको छलफलपछि विधेयक भएको मतदानबाट सर्वसम्मतले पारित भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गर्दै प्रस्तावना संविधानको अभिन्न अंग बनेको घोषणा गर्नु भएको थियो ।

सभामुख सापकोटाले संशोधन विधेयक पारित भएको घोषणा गर्दा संसदमा लामो समय करतल ध्वनी गुञ्जिएको थियो भने नेताहरुले एक आपसमा खुसी बाड्दै बधाई आदान प्रदान गरेका थिए । मतदानमा कुल २ सय ५८ सहभागी हुँदा संशोधनको पक्षमा २ सय ५८ मत नै खसेको थियो ।

सदनमा प्रतिनिधित्व गर्ने सबै मुख्य दल र अन्य दलहरू पनि संशोधन विधेयकको पक्षमा उभिएकोले पनि संसदमा अभूतपूर्व एकता देखिएको थियो ।संबिधानको अनुसूची ३ मा रहेको निशाना छापमा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेतको क्षेत्र समेटेर सरकारले अद्यावधिक गरेको प्रशासनिक र राजनीतिक नक्सा समावेश गर्नका लागि यो संशोधन गरिएको हो ।

संशाेधन विधेयक पारित भएपछि नेपालले जारी गरेको नयाँ नक्साले पूर्णतासहित औपचारिकता पाउने भएको छ । यसैगरी निशाना छापमा पनि नयाँ नक्सा समावेश गरिने छ ।

प्रतिक्रिया दिनुहोस