कार दुर्घटनामा एक पत्रकारकाे मृत्यु

बुटवल, १४ असार  ।

कार दुर्घटनामा परी न्यूज २४ टेलिभिजनका रुपन्दही स्थित टिभी जर्नलिष्ट कृष्णबाबु पाण्डेको निधन भएको छ । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा-१, ड्राइभर टोलमा गए राति भएको सवारी दुर्घटनामा पाण्डेकाे ज्यान गएकाे हाे ।

मध्यराति पाण्डे घर फर्किरहँदा बा ७ च ६९५९ नम्बरको उनी आफैले चलाएको कार दुर्घटनाग्रस्त भएकाे जनाइएकाे छ । दुर्घटनामा गम्भीर घाईते भएका पाण्डेलाई उपचारका लागि बुटवलस्थित चौराहा अस्पतालमा लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।कार सडक किरानाको फलामे बारमा ठोक्किएकाे बताइएकाे छ । टिभी जर्नलिष्ट पाण्डेको शव  अहिले पाेस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

पत्रकारितामा आउनुअघि पाण्डे म्युजिक भिडियोमा अभिनय र संगीत कर्ममा सक्रिय थिए । उनले बजारमा ल्याएको तीज गीत ‘भंगेरी चरीले’ लोकप्रिय भएको थियो । उनले स्थानीय स्तरमा एक अनलाइन पनि सञ्चालन गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस