सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय

काठमाण्डाैँ, २६ असार ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले तत्कालको अवस्थामा सार्वजनिक सवारी नचलाउने निर्णय गरेको छ । शुक्रबार बसेको महासंघको केन्द्रीय कमिटी बैठकले वातावरण तयार गर्न सरकार उदासीन भएको निष्कर्ष निकाल्दै अहिलेको अवस्थामा सार्वजनिक सवारी नखुलाउने निर्णय गरेको हो ।

ऋण किस्ताको पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, पुनर्कर्जाको व्यवस्था लगायतको माग सम्बोधन नभएकाले तत्काल सार्वजनिक सवारी नचलाउने महासंघले निर्णय गरेको महासंघका बरिष्ठ उपाध्यक्ष हरिशरण केसीले बताउनु भयो ।

सरकारले सहुलियतपूर्ण कर्जाको व्यवस्था नगरेमा गाडी सडकमा निकाल्ने खर्च नै नहुने निष्कर्ष बैठकले निकालेकाे केसीले जानकारी दिनुभयो । सवारी थन्किएकै ठाउँबाट एउटा बाहिर निकाल्नका लागि डेढ देखि २ लाखसम्म खर्च गर्नुपर्ने अवस्था रहेको व्यवसायीहरुको भनाइ छ ।

लामो समयसम्म सवारी बन्द गर्दा आफूहरु ऋणले थिचिएको र सरकारबाट सहुलियत र सहयोग हुनेगरी कुनै प्याकेज नआएको यातायात व्यवसायीहरुको गुनासो रहेको पनि बरिष्ठ उपाध्यक्ष केसीले बताउनु भयो ।

महासंघले चालक तथा सहचालकको स्वास्थ्य सुरक्षाका लागि बीमाको ग्यारेन्टी गर्नुपर्ने माग पनि गरेको छ । त्यस्तै, सार्वजनिक सवारी चलेपनि कोरोना संक्रमण फैलाएको आरोप लाग्न सक्ने भन्दै महासंघले जोखिमको मूल्याङ्कन गरेर योजना बनाउन आग्रह गरेको छ ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले पत्रकार सम्मेलन गर्दै यथास्थितिमा सार्वजनिक यातायात नचलाउने बताइसकेको छ । साथै चाबी सरकारलाई बुझाउने बताउँदै यातायात सञ्चालन गरेर देखाउन चुनौती समेत दिएका छन् ।

विहीबार मात्रै जिल्लाभित्र र काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीलाई खुला गर्ने सरकारले निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस