बाजुरामा युवाकाे समुहद्धारा प्रहरीमाथि आक्रमण , तीन प्रहरी घाइते

बाजुरा, ०४ श्रावण ।

बाजुरामा युवाहरुको समुहले प्रहरीमाथि आक्रमण गरेको छ । शुक्रबार राति जिल्लाको बुढिगंगा नगरपालिकामा स्थानीय दिलिप केसीको समूहले प्रहरीमाथि ढुंगामुढा प्रहार गरि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

युवाहरुको आक्रमणबाट तीन जना प्रहरी घाइते भएका छन् भने मोटरसाइकलमा पनि क्षति पुगेको छ । आक्रमणमा प्रहरी जवान मिनबहादुर रौल सहित तीनजना घाइते भएका हुन् । उनीहरुको छिमेकी जिल्ला अछामको बयलपाटा अस्पतालमा उपचार गरिएको छ । आक्रमण गर्ने केसी बुढीगंगा नगरपालिका–७ का वडा अध्यक्ष भुवन केसीका छोरा हुन् ।

उक्त समूहले बुढीगंगा नगरपालिका–८ को रिठा बजारमा होटल व्यवसाय गर्ने पारस रावललाई कुटपिट गरेको उजुरी परेपछि प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी आएपछि एउटा घरमा लुकेका आक्रमणकारीहरुले प्रहरीले घर घेराहाले पछि भित्रैबाट फोन गरेर अरुलाई पनि बोलाएको र उकालो ठाउँबाट ढुंगा मुढा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए ।

प्रहरीलाई आक्रमण गरेर भगाएपछि दिलिप केसीको समूह पनि त्यहाँबाट फरार भएको थियो । प्रहरीमाथि आक्रमण भएपछि आक्रमणकारी खोज्न प्रहरी निरीक्षक दानबहादुर रोकाया नेतृत्वको टोली घटनास्थलमा परिचानल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस