“बाँचे संसार जित्न सकिन्छ: सकारात्मक सोचको बिकास गरौं”

 

 

कुनै पनि व्यक्तिले जानीजानी आफ्नो जीवन आफैले समाप्‍त पार्ने गर्दछन्, जसलाई हामी आत्महत्या भन्ने गर्दछौ । आत्महत्याको प्रयास गर्ने अथवा आत्महत्या गरी हाल्ने प्राय व्यक्तिहरुमा कुनै न कुनै किसिमको मानसिक रोग हुने मनोविद्हरुले बताउने गरेका छन् । उदासीनता वा डिप्रेसनका कारण पनि धेरैजसो व्यक्तिहरूले आत्महत्या गर्ने गर्दछन् । जीवनमा थोरै मात्र व्यक्तिहरुले कहिलेकाहीँ एक्कासी तनावका कारण उक्त तनावसँग लड्न नसकेर पनि आत्महत्याको प्रयास गरेको हामी देख्न सक्दछौ ।

विश्व स्वास्थ्य संगठनका अनुसार बर्षेनी विश्वमा करिब ८ लाख मानिसले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ । नेपालमा प्रत्येक २ घण्टामा एकजनाले आत्महत्या गर्ने गरेको तथ्य फेला परेको छ । आत्महत्या गर्ने विश्वका देशहरुमा १७ औँ स्थान नेपाल पनि पर्ने गरेको छ । नेपाल सरकारको तथ्याङ्क अनुसार नेपालमा बर्षेनी करिब ७ हजारले आत्महत्या गर्ने गरेको पाईएको छ । नेपालमा आत्महत्या गर्नेहरुमध्ये करीव ७२ प्रतिशतले झुण्डिएर आत्महत्या गर्छन् । अन्य बिष सेवन गरेर, आफुले आफैंलाई गोली हानेर, आगो लगाएर, हामफालेर, करेण्ट लगाएर, हातहतियारको प्रयोग गरेर आत्महत्या गर्ने गरेको पाइन्छ । मानव मस्तिष्कमा २४ सै घण्टा राम्रा विचार मात्र सिर्जना हुँदैन । कतिपय बेला उसको मस्तिष्कमा आफ्नो जीवनको हरेक क्षणलाई समेट्न नसकी मृत्यु नै उसले मुख्य बाटो अपनाउन खोज्दछ ।

समाजमा हरेक व्यक्ति आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि सफल हुने सपनाका साथ अघि बढिरहेको हुन्छ । सामान्यतया कुनै पनि व्यक्तिले आत्महत्या गर्नुभन्दा केही समय अगाडी अब आफ्नो जीवन अन्त्य गर्दैछु, यसपछी मेरा बालबच्चाको के हुन्छ भन्ने सोचेर चाँजोपाँचो मिलाउने, सम्पत्तिको भागबन्डा लगाइदिने, दुर्व्यसनिलाई बढी प्राथमिकता दिने तथा जीवन केही पनि रहेनछ भन्ने खालका अभिव्यक्तिहरु दिने गरेको पनि पाईएको छ । यस्ता किसिमका संकेत देखिएका मानिसहरुलाई जीवनको बारेमा सम्झाई बुझाई गर्न सके वा सचेत गर्न सके हुन सक्ने सम्भावित आत्महत्याका घटनाबाट टाँढा रहन सकिन्छ । यस्ता किसिमको विचारका व्यक्तिहरु प्रायजसो एकान्त खालको वातावरण खोजिरहेका पाईन्छन् । त्यस्ता व्यक्तिलाई एक्लै नछोडी २४ सै घन्टा निगरानीमा राखी सकेसम्म मानसिक परामर्श र उपचार उपलब्ध हुने अस्पतालमा भर्ना गर्न सक्यौ भने सहज रुपमा आत्महत्याका घटनाहरुमा कमी ल्याउन सकिन्छ ।

मानव जीवनमा कमी कमजोरी सबैमा हुन्छन्:-
मानव जीवनमा हरेक मानिसका केही न केही कमी कमजोरीहरु अवस्य हुन्छन् र समाजले त्यसलाई सकारात्मक तवरले बुझी आवस्यक परामर्श दिनुको साटो उसको कमजोरीहरुलाई औल्याई मानसिक तनाव सिर्जना गरी आत्महत्या गर्न तर्फ बाध्य पारेका घटनाहरु पनि सुन्नमा आउछन् । तद्पश्‍चात चरम निराशा र तनाव उत्पन्न भएपछि मानिसले आत्महत्याको बाटो अँगाल्छन् । तर कारण यत्तिमात्रै होइन, आत्महत्या सम्म पुर्‍याउन मानिसलाई विभिन्न कारणले प्रेरित गरिरहेको हुन्छ यसै सन्दर्भमा एक सचेतनामुलक कथा प्रस्तुत गर्न चाहान्छु :-
एकजना वटुवा बाटोमा हिँडि रहेको थियो र उसले बाटोमा एक गुलाबको फुल देख्यो र भन्यो “ तिमी धेरै सुन्दर छौ तर तिमिमा पनि एउटा कमजोरी देखेको छु मैले, जुन तिम्रो काँडा तिमिमा भएको कमजोरी हो” । यति भन्दै वटुवा अगाडी बढ्दै गयो केही पर पुगेपछी उसले समुद्र भेटायो । समुद्रको नजिकै पुगे पछी समुद्रलाई भन्यो “ तिमी धेरै ठुलो छौ तर तिमिमा पनि एक किसिमको कमजोरी छ, तिमी नुनिलो हुनु थिएन यो तिमिमा भएको कमजोरी हो” ।

हिड्दै जाँदा वटुवाले अली पर पुगेपछी कुहु कुहु गित गाउदै गरेको कोयलीलाई भेटाउछ र भन्छ “ तिमी मिठो गित गाउछौ, तिम्रो स्वर पनि एकदमै राम्रो छ तर तिमिमा पनि एउटा कमजोरी देख्छु म, यतिको मिठो स्वर भएकी तिमी काली हुनु तिम्रो कमजोरी हो” । यति भन्दै वटुवा सरासर आफ्नो गन्तव्य तिर लाग्यो । वेलुका घर फर्किने बेला संयोगले गुलाब, समुद्र र कोयली एकै ठाउँमा थिए र सबैले त्यो वटुवालाई रोक्यो, “ रोक्नुहोस्, बिहान हामिलाई भेटेर जानु भयो र हामी सबैका एक एक कमजोरी देखाएर जानु भयो । तपाईले ठिक भन्नु भो कि हामी सबैमा एक एक कमजोरी छन् हामी यसमा पुर्ण सहमत छौ, तर तपाईले कहिले आफ्नो कमजोरी थाहा पाउनु भएको छ ? तपाईमा पनि कमजोरी छ । यति भनेपछी वटुवा रिसायो र भन्यो अह म मान्दिन, म मा कुनै कमजोरी छैन, म सुन्दर छु राम्रो छु, यो दुनियामा म जस्तो अरु कोही पनि छैन, मेरो कमजोरी कसरी देख्यौ तिमिहरुले ? यति भने पछि गुलाब, समुद्र र कोयलीले एकै स्वरमा भने, हो यही हो तपाईको कमजोरी जुन आफ्नो कुनै कमजोरी देख्नु हुदैन तपाईले” । मानव जीवनमा हरेकका केही न केही कमी कमजोरीहरु हुन्छन् तर आफ्नो कमी कमजोरीहरुलाई नदेख्ने अनी अरुको कमजोरीहरुलाई औल्याउदै जाने हाम्रो सामाजिक प्रवृतिले आत्महत्याका घटनाहरु बढेका पाईन्छन् ।

मानिसले बाँचे संसार जित्न सक्ने भएकाले सकारात्मक सोचको विकास गर्ने, दैनिक रुपमा मर्निङ वाक गर्ने, व्यायाम तथा योगा गर्ने, आफुलाई मनोरन्जनात्मक क्रियाकलापमा भुलाउने गर्नु पर्दछ । यसका साथै मनोसामाजिक सहयोग, मनोपरामर्श तथा मनोविद्को सहयोग निश्चित रूपमा आवश्यक पर्ने भएको हुँदा यी सहयोग लिन सक्यौ भने यस्ता किसिमका नकारात्मक सोचहरुबाट अवस्य पनि टाँढा रहन सकिन्छ र समाजमा आत्महत्याका घटनाहरुको न्युनिकरण गर्न सकिन्छ । यदि यसो गर्न सक्यौ भने निराशाजनक अवस्थाबाट अघि बढेर नयाँ दियो बाली जीवनलाई सकारात्मक तवरबाट अगाडी बढाउन सकिन्छ ।

मानव जीवनमा सुख, दुःखको यात्रा सबैमा हुन्छ जुन जीवन चक्र पनि हो । कहिले उदास हुनु र कहिले खुशी हुनु जीवनको नियम हो तर लगातार उदास रहनु, खुशी पनि महसुस गर्न नसक्नु, हरेक काम बोझझै लाग्नु, जीवन केही पनि रहेनछ सोच्नु, पहिला सहज लागेको काम पनि गाह्रो लाग्नु, लगातार नकारात्मक सोच मात्र आउनु, अब केही राम्रो हुँदैन जस्तो सोंच लगातार आउनु, शरीर दुख्नु खासै कारण नहुँदा पनि छिटो थकाइ लाग्नु, निन्द्रा भोक नलाग्नु, रुन मन लाग्नु, कसैले माया गर्दैन भन्ने सोच हावी हुनु, या आफूले गर्दा सबैले दुःख पाए जस्तो लाग्नु जस्ता उदासीपनका लक्षण कहिले काँही मानिसमा देखिने गर्दछन् । जसले गर्दा आत्महत्याका सोच आउन सक्छन् भन्ने भनाई मनोविद्हरुको छ । यसको न्युनिकरणका लागी सरोकारवाला निकायहरुले समय मै समाजमा विभिन्न सचेतनामुलक कार्यक्रमहरुको आयोजना गर्ने व्यवस्था मिलाउनुका साथै यस्ता किसिमका व्यक्तिहरुलाई विविध खालका मनोपरामर्शहरु दिने तर्फ आवस्यक पहल चाल्न सके यस्ता किसिमका घटनाहरुमा कमी ल्याउन सहज हुने थियो ।

लेखक:-सामुदायिक प्रहरी सेवा केन्द्र गोठालापानी बैतडीमा कार्यरत प्रहरी हवल्दार हुन् ।

प्रतिक्रिया दिनुहोस