लकडाउन गर्ने पक्षमा तुलसीपुर क्षेत्रका सरोकारवाला निकायहरू

तुलसीपुर, ११ भदौ ।

तुलसीपुर क्षेत्रका सरोकारवाला निकाय पूर्ण रुपमा लकडाउन गर्ने पक्षमा एक मत भएका छन् । पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यसको विकल्पका रुपमा लकडाउन गर्नुपर्ने निश्कर्षमा यस क्षेत्रका सरोकारवाला निकाय पुगेका हुन् ।

तुलसीपुर उपमहानगरपालिका विपद व्यवस्थापन समितिको अयोजनामा भएको सर्वपक्षीय बैठकमा विभिन्न राजनीतिक दल, तुलसीपुर चेम्बर अफ कमर्स, तुलसीपुर उद्योगबाणिज्य संघ, यतायात व्यवसायी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकार, संघसंस्था, मानवअधिकारकर्मी, बैंकर्स, लगाएतले एकमतका साथ कोरोनबाट बच्न लकडाउन गर्नु पर्ने र त्यसको नेतृत्व तुलसीपुर उपमहानगरपालिकाले गर्नु पर्ने सुझाव दिएका थिए ।

कतै बन्द कतै खुल्ला भन्दा पनि समन्वय गरेर जिल्लाभर एकै पटक बन्द गर्नु पर्ने भन्दै बजार पूर्णरुपमा बन्द गर्नु पर्ने बताए । खाद्यन्न, तरकारी, बैंक सबै करिब १० दिनसम्म बन्द गर्नु पर्ने उनिहरुले जोड दिएका थिए ।

तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले जिल्ला स्तरीय संकट व्यवस्थापन समितिसंग समन्वय गरेर भोली या पर्सीबाट लागु हुने गरी लकडाउन गर्ने बताउनुभयो । त्यसका लागि सबैले बोलीले मात्रै हैन व्यवहारले समेत साथ सहयोग गर्नु प्रमुख पाण्डेले जोड दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस