सिरहा कारागारका ५९ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि

सिरहा, २५ भाद्र ।

सिरहाको कारागार कोरोना संक्रमणको केन्द्र बन्न गएको छ । एकै दिन कारागारका ५९ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको हो।बुधबार कोरोना संक्रमण पुष्टि भएका ६७ जनामध्ये ५९ जना सिरहा कारागार कैदीबन्दी रहेका छन् । बाँकी सात जना चोहर्वा आर्मी ब्यारेकका सैनिक र एकजना मिर्चैया नगरपालिकाका स्थानीय छन् ।

संक्रमितहरुलाई तत्काल आइसोलेसनमा लगिनुपर्ने भए पनि संक्रमितमा कुनै पनि लक्षण नदेखिएकोले कारागारभित्रै बनाइएको १० जना क्षमता भएको आइसोलेसनमा  रखिएको कारागारका जेलर बबिता कुमारी महतोले जानकारी दिनु भयो ।

संक्रमितमा कुनै पनि स्वास्थ्यसंग सम्बन्धित समस्या देखिएमा बाहिर लैजाने व्यवस्था मिलाइने बताउनुभयो । उनका अनुसार कारागार भित्र रहेका अन्य कैदीबन्दीमा पनि संक्रमण फैलिन सक्ने सम्भावना उच्च रहेको उनले बताउनुभयो । हाल संक्रमित भएकामध्ये अधिकांशलाई लक्षण भने देखिएको छैन । त्यसकारण भित्रभित्रै फैलिएको हुनसक्ने डर देखिएको कारागारका जेलर महतोले बताइन् ।

आइतबार पिसिआर गरिएका अधिकांशमा कोरोना संक्रमण पोजेटिभ देखिएको उनले बताइन् । सानो ठाउँमा धेरै कैदीबन्दीलाई खाँदेर राखिएकाले भित्र फैलिएको हुनसक्ने अनुमान गरिएको छ ।कारागारमा संक्रमण फैलिएकोले अहिले कैदीबन्दी भेटघाटमा रोक लगाइएको छ । यसअघि तीन जना कैदीवन्दीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस