बुटवल, १८ असाेज ।
प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्तावको विरोधमा बुटवलमा प्रदर्शन हुन थालेपछि रुपन्देही प्रशासनले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ।
रुपन्देहीका तीन दर्जन बढी संघ-संगठनको सञ्जालले आइतबार बिहान बुटवलमा विरोध र्याली निकाल्ने निर्णय गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो।रुपन्देहीलाई प्रदेशको स्थायी राजधानी कायम गर्न दबाब दिन आन्दोलनको घोषणा गरेपछि जिल्ला प्रशासनले पाँच जना भन्दा बढी जम्मा हुन नपाइने गरी निषेधाज्ञा लगाएको हो।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राति साढे ८ बजे सूचना जारी गर्दै असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ।
प्रदेशसभा सचिवालय रहेको क्षेत्र दक्षिणमा इँटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इँटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको छ। बुटवलमा व्यापक प्रहरी परिचालन समेत गरिएको छ ।
आन्दोलनरत् समूहले शुक्रबार साँझदेखि नै प्रदेशसभा सदस्यहरूका घर तथा निवास अगाडि प्रदर्शन गर्न थालेपछि रुपन्देही बाहिरबाट समेत सुरक्षाकर्मी ल्याइएको छ।