तुलसीपुरमा स्मार्ट छोरी कार्यविधि पारित, छोरीहरुले मासिक रु१०० पाउने

तुलसीपुर, १८ कार्तिक ।

तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुको आर्थिक र सामाजिक सशक्तिकरणका लागि जन्मेदेखि हरेक महिना १ सयका दरले बैक खातामा रकम जम्मा गर्ने भएको छ ।

कार्यपालिकाको ९५ औ बैठकले स्मार्ट छोरी विहेबारी बीस वर्षपारी कार्यविधि पारित गरेसँगै अब यो लागु हुने भएको छ । कार्यविधिमा उल्लेख भए अनुसार २०७७ साउन १ गतेपछि जन्मिएका उपमहानगरपालिका भित्रका हरेक छोरीहरुको बैक खातामा रकम जम्मा हुने उपप्रमुख माया शर्माले जानकारी दिइन् ।

कार्यक्रममा समावेश हुनका लागि अभिभावकले छोरी जन्मिएको ३५ दिन भित्रमा अनिवार्यरुपमा जन्मदर्ता गराएको हुनुपर्ने र बालिकाको अभिभावकले बैकमा खाता खोलेर खाता नम्वर उपमहानगरपालिकालाई उपलब्ध गराएपछि रकम जम्मा हुने  कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधिमा उल्लेख भए अनुसार जन्मेको पहिलो महिनामा एक हजार दुई सय रुपैया र त्यसपछि हरेक महिना १ सयका दरले खातामा रकम जम्मा हुनेछ । यो क्रम २० बर्षसम्म चल्ने कार्यविधिमा उल्लेख छ  ।

प्रतिक्रिया दिनुहोस