बझाङमा खुँडा प्रहारबाट युवककाे हत्या

बझाङ,१४ माघ ।

बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरि हत्या गरिएको हो ।

छबिसपाथिभेरा गाउँपालिका-३ मा रहेको बान्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा मंगलबार साँझ भएको विवाद पछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए ।

खुँडा प्रहार गर्ने मध्ये सोही गाउँपालिका वडा नम्बर २ का वर्ष ३२ का ज्ञान बहादुर कडायतलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ । हत्यामा संलग्न प्रकाश ऐडी फरार रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।हत्यामा प्रयोग गरिएको खुँडा बरामद गरिएको र शव जिल्ला अस्पताल सिमखेतमा राखिएको छ । शवको पोष्टमार्टम भने अहिलेसम्म नभएको र फरार व्यक्तिको खोजी कार्य भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस