जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री

काठमाण्डाैँ, ०३ जेठ । 

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनसँग जोड्न र जनतालाई समृद्ध जीवनको प्रत्याभूति गर्न सके मात्र लोकतन्त्र सार्थक हुने बताउनुभएको छ ।

जननेता मदन भण्डारी र नेता जीवराज आश्रितको २८ औँ स्मृति दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’को निरन्तरता रक्षा, कार्यान्वयन र विकास गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले राष्ट्रियताको सम्वद्र्धन र राष्ट्रिय हिताको रक्षाका लागि अविचलितरुपमा क्रियाशील हुने प्रण गर्दै पार्टीलाई एकताबद्ध, जनआधारित, गतिशील, अनुशासित र मुलुकको नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने पनि जनाउनुभएको छ ।

दिवसका अवसरमा भण्डारी र आश्रितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एमालेका महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमिगत राजनीतिदेखि खुल्ला राजनीतिसम्म आइपुग्दा जननेता भण्डारीले नेपालको वाम र लोकतान्त्रिक आन्दोलनमा शिखर स्थान बनाउन सफल नेतृत्व गर्नुभएको स्मरण गर्नुभएको छ ।

स्मृति दिवसका अवसरमा आज एमालेको पुरानो केन्द्रीय कार्यालय रहेको स्थान मदननगर बल्खुमा भण्डारी र आश्रितप्रति श्रद्धाञ्जलित दिने कार्यक्रम छ । कोरोना महामारीका कारण खुल्ला कार्यक्रम आयोजना गरिएको छैन ।भण्डारी र आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस