शक्तिशाली चक्रवातले पूर्वी भारतमा जनधनको क्षति

बीबीसी, १३ जेठ ।

पूर्वी भारतमा बङ्गालको खाडीबाट आएको शक्तिशाली यास् नामक चक्रवातले कम्तीमा चार जनाको ज्यान गएको र कैयौँ घरबार विहीन भएका विवरण आएका छन्। उक्त चक्रवातले भारतको पश्चिम बङ्गाल र ओडिशा राज्य तथा दक्षिणी बाङ्ग्लादेशमा निकै प्रभाव पारेको छ।

चक्रवात जमिनमा बज्रिनु अगावै तटीय क्षेत्रका दश लाखभन्दा धेरै मानिसलाई सुरक्षित क्षेत्रतर्फ विस्थापन गरिएको थियो। अघिल्लो साता टाउटे आँधीले पश्चिम भारतमा १५० जनाको ज्यान लिएको थियो। भारत कोभिड–१९ को घातक महामारीको चपेटामा परेकै बेला यी प्राकृतिक विपद् आइपरेका छन्।

यास् चक्रवातले तटीय क्षेत्रमा तीव्र हावाहुरी तथा वर्षा निम्त्याएको छ। घरहरू भत्किएका छन् भने ठूल्ठूला छालले तटीय नगरहरूमा डुबान निम्त्याएका छन्। चक्रवात आउनु अगावै तटीय क्षेत्रबाट दश लाखभन्दा धेरै मानिसलाई उद्धार गरेर अन्यत्र लगिएको थियो। भारतीय मौसम विभागका पछिल्ला ट्वीटहरूमा चक्रवात पश्चिमोत्तर क्षेत्रतर्फ सर्दै गएको र कमजोर हुँदै गएको जनाएको छ।

क्षतिका विवरण
पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले त्यहाँ ३ लाख घरमा क्षति पुगेको र दिगा नगरमा चार मिटर अग्ला छालहरूका कारण डुबान भएको बताउनु भयाे । एक जनालाई छालले समुद्रतर्फ बगाएको र अर्का चाहिँ घर भत्किएर मारिएको उहाँले बताउनु भयाे । ओडिशा राज्यमा रूख ढल्नाले दुई जनाको ज्यान गएको विवरण आएका छन्। कोभिड–१९ को सुरक्षा मापदण्डबमोजिम करिब १२ सय आश्रयस्थल बनाइएका छन्।

प्रतिक्रिया दिनुहोस