दाङमा ५८ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

तुलसीपुर
८-कात्तिक/ दाङमा ५८ हजार ३८ जना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

जिल्लामा ५१ हजार ७१ जना बालबालिकालाई जुकाको औषधि खुवाइदै छ । त्यस्तै स्वास्थ्य कार्यालयले भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउनका लागि ९३१ जना महिला स्वास्थ्य स्वंयमसेविकालाई खटाएको बताएको छ । साथै आइतबार खान छुटेका बालबालिकालाई आज सोमबार खुवाउन सकिने छ । सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष दुई चरणमा बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ ।

सधैं कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिएकोमा यस वर्ष त्यो मितिमा दशैं परेकाले कात्तिक ७ र ८ गते खुवाइदै छ । यसअघि पहिलो चरणमा बैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको थियो । ६ महीनादेखि ५९ महीनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि २०५६ सादेखि खुवाउन थालिएको हो ।

 

साथै जिल्लामा ६ महिनादेखि २३ महिनासम्मका१९ हजार ८६१ जना बालबालिकालाई बालविटा समेत खुवाइदै छ । नेपाल सरकारले बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउदै आएको छ । त्यस्तै बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन जाँदा जनस्वास्थ्यका मापदण्ड अपनाएर खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस