छोरीलाई तुलसीपुरमा निशुल्क प्राविधिक शिक्षा

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ की पुजा गुरुङ्गले महेन्द्र मावि तुलसीपुरबाट एसईई दिइन् । सानै उमेरमा बुबा गुमाएकी पुजालाई प्राविधिक शिक्षा अध्ययन गर्ने ठूलो रहर थियो । आर्थिक कारणले सोचेको कुरा पढ्न पाइदैन की भन्ने चिन्ता बढ्दै गइरहेको थियो । “तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुलाई निशुल्क प्राविधिक विषय अध्ययन गराउने नीति ल्याएपछि मेरो प्राविधिक शिक्षा पढ्ने सपना पुरा भएको छ ” कुशल खाद्य विज्ञ वन्ने सपना देखेकी पुजाले भनिन् । उनी अहिले तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर बहुप्राविधिक शिक्षालयमा फुड एण्ड डेरी पहिलो सेमेस्टरमा पढिरहेकी छिन् ।

तुलसीपुर कै वडा नम्बर ४ रक्षाचौरकी खुसी परियारको सानैदेखि कृषि विज्ञ वन्ने सपना थियो । उनको सपना पनि अहिले साकार भएको छ । “निशुल्क रुपमा आफुले चाहेको विषय पढ्न पाउँदा असाध्यै खुसी छुँ” उनले खुसी व्यक्त गरिन् ।

वालमितेरी मावि भोजपुरबाट एसईई दिएकी अरुणा चौधरीको मेकानिकल इन्जिनियरिङ्ग पढ्ने सपना पनि यतिवेला सार्थक भएको छ । “बाबा आमाले पढ्न सकिदैन भन्नु भएको थियो तर पूर्ण छात्रवृत्ति पाएपछि अहिले पढ्न सम्भव भएको छ ” चौधरीले भनिन् । तुलसीपुर ३ की आइसा ढकालको इलेक्ट्रिकल इन्जिनियरिङ्ग पढ्ने सपना पनि सार्थक भएको छ । “३ वर्ष पढेर आत्मनिर्भर वन्न सकिन्छ भन्नेमा ढुक्क छुँ” ढकालले खुसी व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस