खेती योग्य जमिन नमासौं

खाद्य सुरक्षामा उपलब्धता, पहँुच, उपयोग र स्थिरता हुनुपर्छ । खाद्यान्न उपलब्धताको सम्बन्ध खाद्यान्न उत्पादनमा वृद्धिसँंग छ । पहुँचको सम्बन्ध मानिसको क्रयशक्तिसँग छ । उपयोगको सम्बन्ध उपभोग अथवा पोषणसंँग छ । यसमा स्वच्छ पिउने पानी, प्राथमिक स्वास्थ्यरक्षा, प्राथमिक शिक्षा, बस्ने ठाउँ, पर्यावरण स्वच्छता जहाँ रहेर मानिस भोजनको उपभोग गर्न सक्छन् । खाद्य सुरक्षा अनिवार्य छ । खाद्य सुरक्षा त्यतिबेला भएको मानिन्छ, जब सम्पूर्ण जनता आफ्नो स्वस्थकर तथा सक्रिय जीवनका लागि आवश्यक पर्ने सुरक्षित तथा पौष्टिक तत्वयुक्त खाद्यान्न प्राप्त गर्न आर्थिक र भौतिक रूपले सक्षम हुनेछन् । मानिसलाई सुरक्षित, पर्याप्त र पौष्टिक भोजन जसले उनीहरूको आहार सम्बन्धी आवश्यकता एवं इच्छालाई पुरा गरेमात्र सक्रिय र स्वस्थ जीवन सम्भव छ ।

त्यसैगरी स्थिरताको सम्बन्ध दिगो रूपमा उत्पादन तथा उत्पादनको संरक्षण र व्यवस्थापन हो । खाद्य सुरक्षाको लागि टिकाउ उत्पादनमात्र होइन, यसमा त टिकाउ उपभोगको पनि बराबर आवश्यकता हुन्छ । हाम्रोजस्तो देशमा खाद्यान्नको उपलब्धता, खाद्यान्नमा पहुँच र खाद्यान्न सदुपयोगको लागि निम्न रणनीतिको आवश्यकता पर्छ । जमिन प्रत्येक देशको प्राकृतिक सम्पदाको सबभन्दा महत्त्वपूर्ण भाग हो । भूमि सीमित हुन्छ । तर यसको अनेकौं वैकल्पिक उपयोग गर्न सकिन्छ । त्यसकारण सबै देशले यसको सर्वोत्तम उपयोग गर्न सक्नुपर्छ । दिगो उत्पादनका लागि भूमिको संरक्षण एवं प्रबन्धन आवश्यक हुन्छ । यस्ता प्राकृतिक स्रोतहरूलाई आवश्यकताभन्दा बढी प्रयोग गरियो भने विविधता क्षयीकरण हुन्छ । दिगो उत्पादन रणनीतिको साथै बाली वृद्धि मोडल, भौगोलिक संकेतीकरण प्रणाली, पर्यावरण मित्र खाद्य उत्पादन प्रविधि, बाली बिमा विस्तार आदि सम्मिलित हुन्छन् ।

यसका लागि शिक्षित युवा किसानहरूलाई कृषि व्यवसायमा आकर्षित गर्नुपर्ने हुन्छ । नेपाल सरकार, विभिन्न दातृ निकाय र स्थानीयहरूको सहयोगमा प्रत्येक गाउँमा सामुदायिक खाद्यान्न बैंक स्थापना गर्न सकिन्छ । यस्ता बैंकहरूमा स्थानीय स्तरका उत्पादनलाई पहिलो प्राथमिकतासाथ किन्ने, अपुग भएमा खाद्यान्न बाहिरबाट ल्याएर भण्डारण गरिन्छ । यस्तो बैंकबाट सुफत मूल्यमा स्थानीय जनतालाई खाद्यान्न उपलब्ध गराउन सकिन्छ । यस्ता बैंकले पोषण सुरक्षा, सामाजिक एवं लैंगिक समानता पर्यावरण सुरक्षा एवं रोजगार उपलब्ध गराउन निकै मद्दत गर्नेछन् । त्यसैगरी यस्ता बैंकहरू बाढी, पहिरो, भूकम्पजस्ता आपत्कालमा राहत दिन निकै सार्थक बन्नेछन् । किसानहरूले थाहै नपाई खाद्यान्नको ठूलो मात्रा नष्ट भइरहेको छ । कैयौं पटक खेतबारीमा बाली पाकेर तयार भएको हुन्छ, किसान दाजुभाइद्वारा समयमा बाली लिन नसक्दा अन्न खसेर माटोमा मिसिने, चरा, मुसाले खाने जसले गर्दा धेरै खाद्यान्न नष्ट हुने गरेको छ । सार्वजनिक वितरण प्रणाली लागु गरी विश्वसनीय एवं कुशल बनाउनु आजको आवश्यकता हो । खाद्यान्न उत्पादन बढाउने र सार्वजनिक वितरण प्रणाली स्थापित गर्दै विश्वसनीय बनाउनु आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस