आजदेखि कोरोना भाइरस विरुद्धको बुस्टर डोज खोप दिने, क-कसले पाउँछन्?

२ माघ/ सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप दिने भएको छ । पहिलो चरणमा अग्रपंतिमा खटिने व्यक्तिहरूले बुस्टर डोज खोप लगाउन पाउनेछन् ।अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरूले बुस्टर डोज पाउनेछन् ।

यस्तै सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिङ सेवा, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि बुस्टर डोज दिइने छ । बुस्टर डोज पाउन पूर्णमात्रा खोप लगाएको ६ महिना पूरा भएको हुनुपर्ने छ । पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको छ, बुस्टर डोजमा पनि त्यही खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पत्र लेखेर अग्रपंक्तिमा खटिनेहरूलाई माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिन आग्रह गरेको थियो ।

दोस्रो चरणमा माघ दोस्रो सातादेखि ६० वर्ष र त्यसभन्दा माथिका व्यक्तिहरूलाई बुस्टर मात्रा खोप लगाइनेछ । उनीहरूलाई माघ १४ देखि खोप लगाइने तयारी छ । सरकारले खोप कार्ड लगेर नजिकैको खोप केन्द्रमा गइ बुस्टर डोज लगाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस