‘नो’भिड ‘नो’कोभिड : प्रमुख रेग्मी

तुलसीपुर
५-माघ/ दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कोरोना महामारीलाई फैलिन नदिनका लागि भिडभाडलाई नियन्त्रणमा लिनु पर्ने बताएका छन् । बुधबार तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको ‘कोभिड व्यवस्थापनमा हामी सबैको चासो’ अन्र्तक्रिया तथा छलफल कार्यक्रममा बोल्दै प्रमुख रेग्मीले यस्तो बताएका हुन् ।

त्यस्तै कार्यक्रमको प्रमुख अतिथि समेत रहेका प्रमुख रेग्मीले कोरोना महामारी संक्रमण फैलिनुको मुख्य कारक तत्व भनेको परामर्श तथा जनचेतनाको कमी भएको जिकिर गरेका छन् । यदि गाँउ-गाउँ, टोल-टोलमा स्वास्थ्य परामर्श तथा जनचेतना फैलाउन सकेमा कोरोना महामारीलाई सजिलै पराजय गर्न सकिने उनले बताए ।

त्यस्तै उनले तुलसीपुरको कुनै पनि क्षेत्रमा संक्रमण बढी भएमा कसैसंग सल्लाह सुझाब नलिएर ‘स्मार्ट लकडाउन’ गर्न भनेका छन् । उनले संघ संस्थाहरुले पनि स्वच्छिक तरिकाले कोरोना महामारीलाई नियन्त्रणमा लिनका लागि सक्रिय रुपमा भूमिका निर्वाह गर्नु पर्ने बताए ।

त्यस्तै उनले कोरोना महामारीको तेस्रो लहरसंग लड्नका लागि खोप अभियानमा तीव्रता दिनु पर्ने बताए । यदि आँफूले कोरोना विरुद्धको खोप लगाइसकेको तर छिमेकी लगायत अन्य व्यक्तिहरुले खोप नलगाएको भए उनीहरुलाई पनि खोप लगाउनमा प्रेरित गर्नु पर्ने बताए ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुरका कोरोना फोकल पर्सन बिमल केसी, राप्ती प्रादेशिक अस्पतालका मेसु डाक्टर बिनोद सिंह, तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बिमल रिजाल, तुलसीपुर जेसीजका अध्यक्ष नारायण भण्डारी, जिल्ला प्रहरी प्रमुख सुरेश काफ्ले, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख श्यामु अर्याल, राष्ट्रिय अनुसन्धान केन्द्र दाङका प्रमुख अर्जुन भण्डारी, लायन्स क्लबका अध्यक्ष गणेश अधिकारी, रोटरी क्लबका उपाध्यक्ष सन्दिपन रिजाल र रोट्रयाक्ट क्लबका अध्यक्ष हेमराज बस्नेत लगायतकाले बोलेका थिए । जिल्ला प्रशासन कार्यलय दाङले समन्वय गरेको कार्यक्रममा पत्रकार महासंघका कोषाध्यक्ष शरद रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

यसैबिच उक्त अन्र्तक्रिया कार्यक्रममा वाणिज्य संघको संयोजकत्वमा तुलसीपुर क्षेत्रका सबै सामाजिक संघ संस्थाहरु सदस्य रहने गरी स्वास्थ्य समन्वय टिम गठन गर्ने, गाँउ र टोलहरुमा जनचेतना जगाउदै भिडभाड नियन्त्रण गर्न सबै सरोकारवाला निकायसंग समन्वय गर्दै अगाडी बढ्ने र खोप व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायसंग समन्वय गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस