शिक्षामा लगानी, वर्षदिनलाई शैक्षिक सामाग्री उपहार

दाङ
२६-माघ/ यति धेरै किताब कापी किन र कस्को लागि राखिएको होला ? विद्यालय प्राङ्गणमा किताब कापीको चाङ देखेर त्यहाँ पुगेका अभिभावक अचम्म परे । अभिभावक एक आपसमा कानेखुसी गर्दै थिए । एकै छिन पछि उनीहरुले थाह पाए ती शैक्षिक सामाग्री उनिहरुकै बालबालिकाका लागि त्यहाँ राखिएको रहेछ भनेर । वर्षभरि छोराछोरीलाई पढाउने खर्च पुगाउन हम्मे हम्मे हुने गर्दछ । गढवा गाउँपालिका वडा नम्बर ४ मा बस्ने निम्न बर्गका समुदायहरुको पीडा हो यो ।

भन्दा सामान्य लाग्छ तर एक वर्षभरि विद्यालयको खर्च धान्नै मुस्किल हुने ती समुदायका स्थानीयको गुनासो छ । विद्यालयको खर्च धान्न गाह्रो भैरहेका बेला त्यो समुदायका लागि भगवान अनेर एउटा संस्था पुग्यो जस्ले एक वर्षभरि किन्नै नपर्ने गरेर शैक्षिक सामाग्री थमाइ दियो । आफ्ना छोराछोरीले स्टेसनरीका सामाग्री र झोला पाए पछि गढवा गाउँपालिका वडा नम्बर ४ पर्सेनीका फातिमा खातुन निकै खुशी भएकी छन । चिन्दै नचिनेका मानिसहरु उनको वडामा पुगेर वर्ष भरी पुग्ने कापी, कलम, र झोला फातिमालाई हातमा थमाइ दिएपछि उनको खुसीको सिमै रहेन । सहयोगी हातहरुलाई उनी भन्छिन“– अल्लाहले भला गरून् “–।

फातिमा जस्तै धेरै अभिभावक विद्यालय प्राङ्गणमा पुगेका थिए । बोक्नै भारी, झोलामा नअटाउने गरि कापी किताब बोकेर खुशी हुँदै बेलुका घर फर्किएका थिए । आफ्ना आमा बुवाले सामाग्री पाएको देखेर ससाना बालबालिका खुशीले फुरुंग भएका देखिन्थे । झोला पाएपछि किताब कापी कलम हातमा बोकेर विद्यालय जानू पर्ने बाध्यता हटेको छ भने, हराउने डर पनि हटेको छ । त्यस विद्यालयमा पढ्ने नानीबाबुहरु किताब कापी हातमा च्यापेर टाढाबाट विद्यालय जानू पर्थ्यो अब झोलामा बोकेर सजिलैसँग जानेछन ।

संघद्वारा निशुल्क शैक्षिक सामाग्री वितरण

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ क्षेत्रीय समिति देउखुरीले बसन्त पंचमीको अवशर पारेर शैक्षिक सामाग्री विद्यालयलाई हस्तान्तरण गरेको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको केन्द्रिय कार्यक्रम अनुसार बसन्त पंचमीको अवशर पारेर विद्यालयहरुमा सहयोग गर्ने निर्णय अनुसार गढवा गाउँपालिका वडा नम्बर ४ स्थित कालिका प्राथामिक विद्यालयका छात्र तथा छात्रालाई शैक्षिक सामाग्री प्रदान गरिएको हो ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ क्षेत्रीय समिति देउखुरीका अध्यक्ष कमल बहादुर खड्काको सभापतित्व,गढवा गाउँपालिकाका शिक्षा शाखा संयोजक श्याम बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बोल्ने बक्ताहरुले संघले गरेको कार्य अत्यन्तै उदाहरणिय कार्यको भएको भन्दै प्रसंशा गरेका थिए । कार्यक्रममा प्रमुख अथिति बिश्वकर्माले अभिभावकले आफ्नो बालबालिकाको गतिबिधिको बारेमा ध्यान दिनु पर्ने र आर्थिक अवस्था जस्तो भएपनि शैक्षिक रुपमा सम्पन्न हुनका लागि अभिभावकले चासो राख्नु पर्ने बताए । कार्यक्रममा विशिस्ट अथिति तथा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ लुम्बिनि प्रदेशका अध्यक्ष भैरव बहादुर रावलले समाजमा शैक्षिक प्रगतिको लागि विद्यार्थी र अभिभावाक दुबैमा पठन संस्कृतिको विकास हुनु आवश्यक रहेको बताए । बर्तमान समयमा धन दौलत भन्दा पनि सबै भन्दा मुल्यवान सम्पति विद्या रहेकोले यस बिषयमा सरकारले पनि विशेष चासो दिएर गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने उनको भनाई छ ।

कार्यक्रममा नेपाल पुस्तक तथा व्यवसायी महासंघ क्षेत्रीय समितिमा आबद्ध ४१ जना पुस्तक व्यवसायीद्वारा सहयोग गरिएको १ लाख ७१ हजार ८ सय दस रुपैया बराबरको शैक्षिक तथा खेलकुद सामाग्री र कार्यसमितिको कोषबाट २९ हजार नौ सय बराबरको ४६ थान झोला गरि कुल २ लाख १ हजार ७ सय दस रुपैया बराबरको सहयोग गरिएको क्षेत्रीय समितिका सचिव अनिल पौडेलले जानकारी दिए । कार्यक्रममा ५३ जना विद्यार्थीका अभिभावकलाइ सामाग्री हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस