प्रतिष्ठानमा बैशाख १ गतेदेखि आमा सुरक्षा कार्यक्रम निःशुल्क

 राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामीछानेले आफु दङ्गाली भएकाले यो स्वास्थ्य संस्थाको प्रमुख भन्दा पनि उपभोक्ताको रुपमा आफु रहेको भन्दै त्यो अनुसारको प्रतिष्ठानको सेवा सुविधा विस्तारसंगै अस्पतालको स्तरोन्नती गर्न आफुले पहल गर्ने बताएका छन् । बिगतको कुरालाई बिर्सिदै अस्पताललाई राम्रो बनाउन नागरिक समाजको निरन्तर खबरदारी आवश्यक रहेको र खबरदारीबाट नै संस्थालाई अघि बढाउन सकिने उनको तर्क थियो ।

प्रतिष्ठानको जग्गा प्राप्तीको प्रकृया अन्तिम चरणमा पुगेको भन्दै उनले जग्गा आउनासाथ पुर्वाधारको काम अघि बढ्ने जानकारी दिए । उपकुलपति लामिछाने आउने बैशाख १ गतेबाट प्रसुति विशेषज्ञ थपेर २४सै घण्टा सुरक्षित मातृत्व कार्यक्रम सन्चालन हुने भन्दै छुट्टै भवनमा पोषण पुनस्थापना गृहलाई प्रभावकारी रुपमा व्यवस्थित तरिकाले सन्चालन गर्न बाल रोग विशेषज्ञ र पोषण अधिकृत खटाउनुका साथै कुपोषित बालबालिकालाई भर्ना गरेर उपचार गर्न सुरु गरिएको बताए ।

उनले आउने शैक्षिक शत्रदेखि प्रतिष्ठानमा बिएस्सि नर्सिङ, बिएनएस, बि फर्माको पढाई सुरु गर्न ल्याब, लेक्चर हल तयारी अवस्थामा राखीएको र चिकित्सा शिक्षा आयोगबाट कार्यक्रमसंगै सिट संख्या निर्धारण भएमा आउने जेठको दोस्रो सातादेखि प्रतिष्ठानमा पढाई सुरु हुने बताए । आफ्नो चार वर्षे कार्यकालमा भौतिक पुर्वाधार जुटाएर एमबिबिएसको पढाई सुरु गर्ने उनले प्रतिवद्धता जनाउदै एमबिबिएस चलाउन ४ सय बेडको अस्पताल चाहिने भएकाले बैशाख भित्र शिलन्यास गरिने जानकारी दिदै निर्माण कार्य अन्तिम चरणमा पुगेर चैतसम्म नयाँ भवन हस्तान्तरण गरेमा प्रसुतिसहित इमरजेन्सीको सेवा विस्तार गरिने बताए ।

उनले छिट्टै एमडिको पढाई सुरु हुने पनि बताए । त्यस्तै प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले अस्पतालमा मेडिकल अफिसर बाहेक २७ जना कन्सल्टेण्ट डाक्टर रहेको भन्दै अस्पतालको अहिलेको सेवा विस्तार अत्यन्तै प्रभावकारी भइरहेको उनकोे दावी छ । उनले पुराना कुरामा अल्झिन नहुने र नयाँ योजनाका साथ अघि बढ्नु पर्ने विचार ब्यक्त गर्दै बैशाख भित्र नयाँ भबन उद्घाटन गरेर ४ सय बेडको नयाँ हस्पिटलको शिलन्यास गर्ने योजना रहेको बताए । साथै उनले नागरिक समाजसंग मिलेर काम गर्न तयार रहेकाले सहयोग गर्न आग्रह गरे ।

सो अवसरमा बोल्दै नागरिक समाज दाङका संयोजक केबि मसालले बिगतदेखि प्रतिष्ठानको बिकास र बिस्तारमा नागरिक समाजले सहयोग गरिरहेको र आउने दिनमा पनि थप सहकार्य गरेर जान तयार रहेको बताए । उनले बिरामीहरु टाढा–टाढाबाट आउने भएकाले अतिरिक्त सेवा बिस्तारको सेवाको समय ३ बजेपछि मात्र गर्न प्रतिष्ठानको नेतृत्वलाई सुझाब दिए । अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेतले प्रतिष्ठानको सेवा बिस्तारमा नेतृत्वसंग सहकार्य गरेर अघि बढिरहेको धारणा व्यक्त गरेकी थिइन् ।

नागरिक समाज दाङले नवनियुक्त राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती डा. विकास लामिछाने, रजिष्ट्रार प्रकाश थापालाई बधाई तथा स्वागत गरेको थियो । समाजका पदाधिकारी तथा सदस्यहरुले सामुहिक रुपमा प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा पुगेर उनीहरुलाई स्वागत तथा सम्मान गरेका हुन् ।

समाजका संयोजक केबि मसाल, सचीव नारायण प्रसाद श्रेष्ठ, निवर्तमान संयोजक चन्द्रराज पन्त, निवर्तमान सचिव लक्ष्मी आचार्य, सदस्यहरु सुशील गौतम, हरिप्रसाद पाण्डे, श्रीमन न्यौपाने लगायतकाले सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस