‘गेहेन्द्र’ जो आफ्नै रगतको ल्याप्चे लगाएर कांग्रेस बनेका थिए

तुलसीपुर,
२०-वैशाख/ केटौले जोवनमै धुरन्धर राजनीतिमा जोडिएका कर्मठ राजनितिक व्यक्तित्वको नाम हो गेहेन्द्र गिरी । हाल तुलसीपुर उपमहानगरपालिका—५ स्थाइ बसोबास भएपनि उनको जन्म भने घोराहीको सेवार बनगाउमा भयो, विसं २००८ शालमा । नेपालमा प्रजातन्त्रको उदय भएको करीव एक बर्षपछि जन्मिएका गिरी एउटा चतुर राजनितिक व्यक्तिका रुपमा उदाइरहंदा इश्र्या गर्नेहरु पनि कम थिएनन्, उनको सर्कलमा । बुवा देवीप्रसाद गिरी घोराही मालपोत कार्यालयमा मुखिया थिए । जागीरको क्रममा उनको परीवार त्यो वेला सेवार बनगाउमै बस्थ्यो, त्यहि जन्मिए गेहेन्द्र । प्राथमिक शिक्षा सेवार बनगाउ तथा घोराहीकै भरतपुरमा कक्षा ८ सम्म पढेपछि उनको माध्यमिक तहको पढाइ तुलसीपुरको मेहन्द्र हाइस्कुलमा भयो । त्यसो त उनले मेट्रिक र आइए भने भारतबाट उत्तीर्ण गरे । राजनितिलाइ सक्रिय बनाउंदै जांदा उनको त्यसभन्दा माथिको अध्ययनमा ब्रेक लाग्यो ।

 

त्यसो त गेहेन्द्रको पारीवारीक पृष्ठभुमि पनि नेपाली कांग्रेससंगै जोडिएको थियो । त्यसैको प्रभावले उनी पनि सानै उमेरमा सक्रिय राजनितिमा अग्रसर हुन पाए । खासमा उनको राजनितिक यात्रा सुरु भएको थियो विसं २०२३ शालदेखि । जुनवेला उनी तुलसीपुरको महेन्द्र हाइस्कुलमा अध्ययन गर्थे । ‘त्यो वेला म कक्षा ९ मा पढ्थे, त्यहि स्कुलमा पढाउने शिक्षक पश्चिम दाङको भमकेका नेमकान्त दाहालले राजनितिको कखरा सिकाउनुभो मलाई’, गेहेन्द्र सम्झन्छन् । उनले आफ्नै औलाको रगतले सेतो कागजमा ल्याप्चे लगाएर राजनितिको कशम खाए । ‘तन मन र धनले म पार्टिको काममा लाग्ने छु, मैले पार्टिको गोपनियता कहिकतैपनि भंग गर्ने छैन’ लेखिएको कागजमा रगतको ल्याप्चे लगाएर राजनितिमा प्रवेश गरेको हुं, गेहन्द्रले भने, औलामा कांढाले गोवेर रगत निकालेर ल्याप्चे लगाएको थिएं ।

कम्ति असहज थिएन, त्यो वेला राजनिति गर्न । जताजतै सिआइडि हुन्थे । बसमा, चोकमा, चौतारामा जताजतै सिआइडि छरीएका हुन्थे, अन्चलाधिसका । त्यतिवेला राजनितिमा लागेकाहरुलाइ क र का भन्ने गरीन्थ्यो । क भनेको कम्युनिष्ट, का भनेको कांग्रेस । क र कालाइ सरकारले अराष्ट्रिय तत्व भन्थ्यो । खोजीखोजी कारावास हाल्थे । कांग्रेसको राजनितिमा जोडिएकै वेला बल्ल नेविसंघ गठन भयो । अर्थात विसं २०२७ शालमा गेहेन्द्र नेविसंघको राजनितिमा जोडिए । हामी त्यो वेला महेन्द्र हाइस्कुलमा पढ्थ्यौं, पढाउने सवै शिक्षक इन्डियन भएकाले उनीहरुलाइ खासै राजनीतिमा चासो थिएन । हामी निर्धक्क राजनिति गथ्यौं’, गेहेन्द्र स्मरण गर्छन, मेरो बाजे चित्रवीर गिरी कांग्रेसी भएको नाताले म पनि कांग्रेसकै राजनितिमा जोडिएं । विसं २०२४ शालदेखि गिरीको सक्रिय राजनितिक यात्रा सुरु भयो । त्यो वेला दाङ कम्युनिष्टमय थियो । यहांका सवै पुजिपती प्राय कम्युनिष्ट थिए । रामनारायण श्रेष्ठ यहांका चतुर अन्चलाधिस । उनले कम्युनिष्ट र कांग्रेस छुट्टयाउने तरीका पनि गजवको थियो । कम्युनिष्टहरु पाइन्ट सर्ट लगाउंथे, कांग्रेसहरु पाइजामा लगाउंथे प्राय ।

पाइन्ट लगाउनेहरुले उठेरै पिसाव फेर्थे, कांग्रेसहरु पाइजामा लगाउने भएकाले बसेर पिसाव फेर्थे । त्यहि कारण अन्चलाधिसले उठीउठि पिसाव फेर्नेलाइ कम्युनिष्ट भनेर चिन्थे, बसेर फेर्नेलाइ कांग्रेसी भनेर । ‘त्यसपछि हामीले महेन्द्र हाइस्कुलमा संगठन गर्न थाल्यौं, कांग्रेस र कम्युनिष्ठबीच त्यहि वेलादेखिनै दिनदिनै झडप हुन्थ्यो । किनकि यहां कम्युनिष्ठको विगविगि थियो, नारायणपुर एरीया त पुरै कम्युनिष्ठहरुको । कांग्रेसीहरुलाइ नारायणपुर क्रसगर्नै मस्कील हुन्थ्यो, त्यो वेला’, गेहेन्द्र सम्झन्छन्, हरेक दिन झडपै झडप । उता कांग्रेस कम्युनिष्ठबीच झडम, अर्कातीर अन्चलाधिसको कडा निगरानी, थाना त अस्थाइ वासस्थान जस्तै थियो । कतीपटक हो कतीपटक थानामा थुनिएको । गिरी विसं २०३० सालदेखि २०३४ शालसम्म चारबर्ष घोराही कारागारमा बस्नुपर्यो, अराष्ट्रिय तत्वको आरोपमा । त्यो वेला क ले राजाको जयजय गर्थे, का ले राजाको विरोध गथ्र्यौ । त्यसैले कांग्रेसलाइ राजनीति गर्न अलि कठिनै थियो । एक दिन त स्कुलमै प्रहरी खोज्न आयो मलाइ, मसंगै सोधेको थियो, गेहेन्द्र खोइ भनेर । मैले उ नभएको बताएर प्रहरीलाई फर्काएको थिए ।

त्यसपछि भारतको वनारस गएर फेरी आप्रवासि विद्यार्थीको संगठनमा जोडिए गिरी । त्यहां कांग्रेसका अग्रज नेताहरुसंग संपर्क हुन पुग्यो गिरीको । त्यसपछि हामीले त्यहि बसेर तुलसीपुरको बाणिज्यबैंकबाट पैसा लुट्ने प्लान गरेका थियौं । मैले त्यहि योजना गिरीजा प्रसाद कोइरालालाइ बताएको थिए । ‘तरपछि हामीले त्यसलाइ ब्रेक गर्यौै । त्यो वेला यहांका अन्चलाधिस चन्द्रमान थकालि थिए । त्यो वेला ७ बर्ष जेल र ७ हजार जरीमाना तोक्यो । पर्चा पम्प्लेट, राजद्रोह, लगायतका ५वटा मुुद्धा लगाइए । मैले नेपालगन्जमा पुनरावेदन अदालतमा अपिल गरेपछि ४ बर्षमै रिहा भएको थिए’, गिरीले स्मरण गरे । खरो राजनीतिमा सक्रिय गेहेन्द्र गिरी विसं २०३६ शालमा नेविसघ दाङकों जिल्ला सभापति बने । विसं २०४९ शालमा नेपाली कांग्रेस दाङको जिल्ला सभापति बने । फेरी वलदेव मज्गैयाले बीचमै जिल्ला सभापतिबाट राजिनामा दिएपछि भएको जिल्ला अधिवेशनमा पनि गेहेन्द्र गिरीनै चुनिए । विसं २०५८ सम्म उनले जिल्ला सभापतिको नेतृत्व सम्हाले ।

विसं २०५६ शालको संसदिय निर्वाचनमा उनी सांसदमा निर्वाचित भए । त्यसो त गिरी कांग्रेसको अघिल्लो तेह्रौ महाधिवेशनमा तुलसीपुर नगर सभापतिमा पनि निर्वाचित भए । भर्खरै सम्पन्न चौधौं महाधिवेशनमा उनी केन्द्रिय सदस्यमा निर्वाचित भए । विसं २०७४ शालको स्थानिय निर्वाचनमा तात्कालिन एमालेका उम्मेदवार घनश्याम पाण्डेसंग झिनो मतान्तरले तुलसीपुर उपमहानगरपालिकाको मेयरमा पराजय भोगेका गिरी आसन्न स्थानिय तहको निर्वाचनमा गठवन्धनको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको मेयरका उम्मेदवार बनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस