को हुन् उपमेयरकी उम्मेदवार स्यानी चौधरी ?

तुलसीपुर,
२१-वैशाख/ नेकपा एमालेबाट तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर पदकी उम्मेदवार स्यानी चौधरी । स्यानी दिदीघर संस्था तुलसीपुरकी संचालिका हुन् । उनी साविक फुलबारी गाविस वडा नं. २ तुईखोलामा २०२९ साल बैशाख ७ गते बुवा खुशीराम चौधरी र आमा सरदनी चौधरीको कोखबाट कान्छी छोरीको रुपमा जन्मिएकी हुन् । उनका तीनजना दाईहरु र दुईवटी दिदीहरु छन् । उनको वाल्यकाल तुईखोलामै बितेको थियो । बुवाआमाका ६ भाइवहिनी छोराछोरीमध्ये स्यानीले मात्रै पढ्न पाईन् ।

उनका दाजुदिदीहरुले स्कुलको गेटसम्मनी टेक्न पनि पाएनन् । तर स्यानी भने सानै उमेरदेखि पढ्नुपर्छ, समाज अशिक्षित भएकाले अगाडी बढाउनुपर्छ भन्ने सोचका साथ पढाईमा अघि सरिन् । पिछडीएको समाजलाई अगाडी बढाउन र हाम्रो गरिबीपन हटाउनको लागि हिम्मतका साथ दाईहरुको कपडा चोरेर त्यही लगाएर स्कुल गएर पढ्न जान्थिन् । स्यानीले त्यो बेलामा स्कुल गएर अध्ययन गर्न त्यती सजिलो थिएन उनी मात्रै आफ्नो गाउँको त्यस्ती छोरी थिईन् जुन घरपरिवारदेखि पुरै समाजसंग संर्घष गरेर स्कुल पढिन् । पढाईको लागि चाहिने किताब, कापी, कलमदेखि लिएर हरेक कुरा सहज रुपमा पाउँदैनथिन् । उनी स्कुल एकदिन गए अर्को दिन जान पाउने अवस्था थिएन् । उनलाई विद्यालय जान्छ भनेर घरमा सबैभन्दा धेरै काम गराउने गर्थे ।

त्यो समयमा छोरीहरुलाई हेर्ने दृष्टिकोण नै फरक थियो । महिलाले केही गर्न सक्दैनन् भन्ने सोँच थियो । महिलाहरु एकदमै पीडित थिए । कृषी गरे पनि वर्षभरी खान नपुग्ने त्यो पनि प्राविधिक ज्ञानको कमीले यस्तो भएको होला भन्ने स्यानीले आफू पढेर यस्ता खालका समस्या समाधान गर्छु भन्ने दृढसंकल्प लिएर संघर्ष गरिन् । उनी चारबर्षको उमेरमा अम्बापुर स्कुलमा कक्षा एकमा भर्ना भएर कक्षा ३ सम्म अध्ययन गरिन् । त्यसपछि कक्षा ४ देखि सात कक्षासम्म रनियापुर स्कुलमा पढिन् । कक्षा ८ देखि अम्मर मावि उरहरीमा भर्ना भईन् र त्यहीबाट २०४७ सालमा एसएलसी पास गरिन् । एसएलसी दिएसंगै उनलाई जागिरको लागि आँखा अस्पताल रक्षाचौर र व्याकवार्ड सोसाईटी एजुकेशन बेसबाट अफर आयो । आँखा अस्पताल जागिर खान टाढा भएकाले बेसमा जागिर गर्दै अध्ययन थालिन् । उनी जागिर खाएसंगै फिल्डका लागि दाङदेखि बाँके, बर्दिया जाने गर्थिन् । उनी फिल्ड जाँदा झोलामा मैनवत्ती, सलाई र किताब कपी कहिले छुटाईनन् ।

त्यसपछि २०५१ सालमा छात्रवृतिमा नाम निकालेर अध्ययन गर्न उनी जापान गईन् । दुई बर्षको जापान बसाईपछि केही पैसा जम्मा गरेर तुलसीपुरमा जग्गा किनेर घर बनाईन् जुन घरमा अहिले दिदीघर संस्था खोलेकी छिन् । त्यस्तै उनले राजनीतिक शास्त्र लिएर आईए र बिए राप्ती बबई क्याम्पसबाट गरिन् । २०७० सालमा उनले समाजशास्त्र बिषयबाट एसएम कलेज काठमाडौँबाट मास्तर पास गरिन् । स्यानी विद्यालय जान लागेको देखेर घरपरिवारदेखि गाउँसमाजले समेत विभिन्न किसिमको तनाब दिन थालेपछि उनले विद्यालयमा जानेका कुरा गाउँभरीका केटाहरुलाई बोलाएर बेलुका सधै पढाउन थालिन् । स्यानी शितलपुरदेखि उरहरी स्कुलमा पढ्न आउने गर्थिन् ।

स्यानी चौधरी सामान्य परिवारमा जन्मिएकोले उनको बाल्यकाल गरिबीको रेखामुनी गुजरिएको थियो । स्यानीले विभिन्न देशहरुमा गएर उच्च शिक्षाहरु हासिल गरेपनि जागिरको बारे राम्रो ज्ञान नभएर सरकारी जागिर खान सकिन्न् । स्यानीले अहिले दिदीघर संस्था खोलेर असाहय बालबालिकालाई आश्रय दिदै आएकी छिन् । उनले दिदीघर संस्था २०६० सालमा स्थापना गरेर हाल उनको संस्थामा बुवाआमा नभएका अनाथ तथा असाहय, बुवाआमा भए पनि अशक्त भएका पीडित बालबालिकाहरुलाई सहारा दिदै आएकी छिन् । सुरुमा संस्था स्थापना गर्ने क्रममा स्यानीले ३५ जना अनाथ बालबालिकाहरुलाई कापी, कमल, ड्रेस दिएर सहयोग दिएर पढाईमा सहयोग गरेकी थिइन् । त्यो बेलामा चौधरी समुदायका छोरीहरु एसएलसीसम्म अध्ययन गरे पनि त्योभन्दा धेरै पढ्ने चलन थिएन ।

पढ्ने ईच्छा भए पनि बजारसम्म आएर अध्ययन गर्न धेरै समस्या हुने गथ्र्यो, त्यसपछि मैले आफ्नै घरमा १६ जना बालिकाहरुलाई ल्याएर उच्च शिक्षा बढाउन सुरु गरीन् । २०६० सालदेखि २०७० सालसम्म ४० जना छोरीहरुलाई पढाउनको लागि निःशुल्क कोठा स्टेशनरी सामान दिएर शिक्षा दिइन् । उनले सहयोग गरेका बालिकाहरुले अहिले सबै आ–आफ्नो पहिचान बनाईसकेका छन् । त्यसपछि तीन बर्षदेखि साहाराविहिन २४ जना बालबालिकाहरुलाई आश्रय दिएर पढाउँदै आएकी छिन् । स्यानी समाजसेवामा निकै ठूलो योगदान दिएकी छिन् । स्यानीले उच्च शिक्षा राजनितिशास्त्रमा गरेता पनि उनको राजनितिक यात्रा भने पहिलो हो । स्यानीलाई नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिकाको उपमेयरमा उम्मेदवारी बनाएको छ । उनी थारु समुदायको निकै आशा लाग्दो उम्मेदवार हुन् । आफु उपमेयरमा विजय भएपछि तुलसीपुरलाई आहा तुलसीपुर बनाउने उनको योजना छ ।

प्रतिक्रिया दिनुहोस