बंगलाचुलीमा नमुना मतदान, ६४ जनाले मतदान गरे

तुलसीपुर
२४-बैशाख/ दाङमा मतदाता शिक्षा कार्यक्रम संचालन नभएपनि विभिन्न स्थानमा नमुना मतदान कार्यक्रम भईरहेका छन् । शनिबार बंगलाचुलीमा नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ । स्थानिय तहको निर्वाचन मिति नजिकिदै गर्दा मतदाताहरुका लागी नमुना मतदान कार्यक्रम आयोजना गरिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

 

बंगलाचुली गाउँपालिका ५ स्थित स्वास्थ्य चौकी भवन लोहारपानी केन्द्रमा भएको नमुना मतदान कार्यक्रममा ६४ जनाले सहभागी जनाएका थिए । जसमा १२ जना महिला र ५२ जना पुरुष रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

यसैबिच कार्यालयले एक सुचना जारी गर्दै नियुक्त पत्र र निर्वाचन सामग्री लिन आउन आग्रह गरेको छ । यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागी जिल्लाका मतदान केन्द्रमा खटिने कर्मचारीहरुलाई तोकिएको समयमा सम्पर्कमा आउन भनेको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृत र कार्यालय सहयोगीहरुलाई अनिवार्य उपस्थित भई २६ र २७ गते नियुक्ती पत्र सहित निर्वाचन सामग्री बुझन कार्यालयले आग्रह गरेको छ ।

जसमा राजपुर, राप्ती, लमही, गढवा, बंगलाचुली र बबई गाउँपालिका क्षेत्रका कर्मचारीलाई यहि बैशाख २६ गते सम्पर्क गर्न आग्रह गरीएको छ भने घोराही, तुलसीपुर,शान्तिनगर र दंगीशरण क्षेत्रका कर्मचारीलाई २७ गते सम्पर्क गर्न जारी सुचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस