तुलसीपुर,
२७-वैशाख/ तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुरको विकास र समृद्धिका लागि गएको पाँच वर्ष स्वर्ण युग भएको बताएका छन् । उनले आफुले सम्पन्न गरेका योजनाहरुलाई दलहरुले अहिलेको घोषणा पत्रमा उल्लेख गरेको पनि बताए । मेयर पाण्डेले भने “अहिले दलहरुले पालिका अस्पताल र पालिकामा प्राविधिक शिक्षालय सञ्चालनको कुरा उल्लेख गरेका छन् जुन कुरा हामीले यो पाँच वर्षमा सम्पन्न गरिसकेका छौ” । उनले तुलसीपुर शिक्षाको हबका रुपमा विकास भएको बताउँदै सबै विद्यालय र क्याम्पसहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि उल्लेखनीय काम गरेको बताए ।

स्वास्थ्य क्षेत्रमा पनि पाँच वर्षको विचमा महत्वपूर्ण काम भएको उनले दावी गरे । “तुलसीपुरमा रक्त सञ्चार सञ्चालन भएको छ , प्रादेशिक अस्पतालमा डायलासिस सेवा सञ्चालनमा छ, राप्ती आँखा अस्पतालको पूर्वाधार निर्माणको काम भएको छ ” उनले बताए । ग्रामिण वस्तिमा एम्बुलेसन्स सञ्चालन, मातृशिशु सुरक्षा कार्यक्रम, मोतियाविन्दुमुक्त नगर बनाउनका लागि उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रका लागि गरेका उल्लेखनीय काम भएको उनको भनाई छ ।

कार्यालयलाई सेवाग्राही मैत्री बनाउनका लागि अनलाईन मार्फत सेवा विस्तार र क्यासलेस वनाइने काम गरेको उनको दावी छ । नेपालमै पहिलो पटक तुलसीपुर विकास प्राधिकरण निर्माण गरेर सडक पूर्वाधारको कामलाई अगाडी बढाइएको उनको भनाई थियो । सार्वजनिक निजी साझेदारीमा ठूला आकारका कामहरु आफ्नो कार्यकालमा गरेपनि उनले बताए । “तरकारी तथा फलफुल बजार, तुलसीपुर अटो भिलेज,तुलसीपुर बसपार्क र विमान सेवा सञ्चालन हामीले गरेको साझेदारीमा नमुना र उल्लेखनीय कामहरु हुन“ नगरप्रमुख पाण्डेले पत्रकारहरु सामुमा बताए । उनले १ सय ५५ किलोमिटर सडक कालोपत्रे भएको बताउँदै सडक निर्माणमा ऐतिहासिक काम भएका जिकिर गरे ।

तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेका पाँच वर्षे गौरबपूर्ण उपलब्धिको सार्वजनिकीकरण कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेले नगरका ८० प्रतिशत घरमा खानेपानी र ९० प्रतिशत घरमा विद्युतिकरण भएको वताए। उनले पाँच बर्षको अवधिका सूचना प्रविधिको क्षेत्रमा पनि उल्लेखनीय काम गरेको बताए । तुलसीपुरलाई खेल क्षेत्रको केन्द्रका रुपमा विकास गर्नका लागि राष्ट्रियस्तरको बेलझुण्डी रंगशाला निर्माण सम्पन्न हुनुका साथै एक वडा एक खेल मैदानको कार्यक्रम अनुसार हरेक वडामा खेल मैदान निर्माणको काम अगाडी बढेको उनको दावी थियो ।

कृषि क्षेत्रमा उल्लेखनीय काम गरेर तुलसीपुरलाई ताजा तरकारी र मासु अनि अण्डामा आत्मनिर्भर बनाएका उनको भनाई थियो । सिँचाईको सहज पहुँचका लागि पालिका भित्रमा आधा दर्जन जलाशय निर्माण गरेको उनले दावि गरे । उपप्रमुख माया शर्मा आचार्यले न्याय सम्पादनका दृष्टिले पालिको उल्लेखनीय काम गरेको दावी गरिन् ।